काठमाडौं। डिजिटल चीन शिखर सम्मेलन अन्तर्गत चीनको फुझोउ शहरमा आयोजित नवौं संस्करणमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू सार्वजनिक गरिएका छन् ।
करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गर्दै लेखन, चिया बनाउने र खेल खेल्ने जस्ता कार्य प्रदर्शन गरेका छन् । यस्ता प्रविधिले दैनिक जीवनमा कृत्रिम बुद्धिमत्ताको प्रयोग कति विस्तार भइरहेको छ भन्ने झल्को दिएका छन् ।
प्रदर्शनीमा जोखिमपूर्ण अवस्थाका लागि प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध पार गर्ने चारखुट्टे रोबोटसम्मका उपकरण राखिएका छन् । करिब ४०० कम्पनीले ६ हजारभन्दा बढी प्रविधि र उत्पादन प्रदर्शन गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल तथा बुद्धिमान प्रणालीहरू समावेश छन् ।
कृषि, उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका करिब १०० उदाहरण प्रस्तुत गरिएका छन्। उच्च गुणस्तरको डेटा कृत्रिम बुद्धिमत्ता विकासका लागि अत्यावश्यक बन्दै गएको र विशेषगरी मानवजस्तै रोबोट विकासमा डेटा अभाव चुनौतीका रूपमा देखिएको उल्लेख गरिएको छ ।
शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले पाठ्यसामग्री तयार पार्ने समय एक हप्ताबाट घटाएर करिब एक घण्टामा झारेको जनाइएको छ । स्वास्थ्य क्षेत्रमा परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्दै सेवा गुणस्तर सुधार गर्ने प्रयास भइरहेको छ ।
श्रमिक दिवसको बिदासम्म प्रदर्शनी सर्वसाधारणका लागि खुला रहनेछ। सयभन्दा बढी परियोजनामार्फत आगन्तुकले प्रविधिको प्रत्यक्ष अनुभव लिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया