एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धलाई निरन्तरता दिन संसदमा प्रस्ताव लैजाने निर्णय हालका लागि स्थगित गरेका छन्। ६० दिनको समयसीमा पूरा भएपछि मे १ मा प्रस्ताव ल्याउने तयारी भए पनि अहिले त्यसलाई अघि नबढाइएको हो।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले बिहीबार संसदमा बोल्दै राष्ट्रपति ट्रम्पलाई ६० दिनभन्दा बढी युद्ध जारी राख्न संसदको अनुमति आवश्यक नपर्ने बताएका छन्। उनका अनुसार ईरानसँग भएको युद्धविरामका कारण ६० दिनको समयसीमा रोकिन पुगेको छ।
अमेरिका–ईरानबीचको युद्ध अप्रिल ७ मा रोकिएको थियो, जसअनुसार यो झण्डै ४० दिनसम्म चलेको थियो। हेगसेथले अहिले सबैभन्दा ठूलो खतरा ईरान नभई युद्धविरोधी समूहहरू भएको पनि बताएका छन्, जसमा केही डेमोक्रेट र केही रिपब्लिकन सांसदहरू समेत रहेका छन्। उनी लगातार दोस्रो दिन पनि बिहीबार संसदमा उपस्थित भएर आफ्नो धारणा राखेका थिए।
भियतनाम युद्धपछि अमेरिकामा सन् १९७३ मा ‘वार पावर्स रिजोल्युसन’ लागू गरिएको थियो। यसअनुसार राष्ट्रपति संसदको अनुमति बिना अधिकतम ६० दिनसम्म मात्र सेना प्रयोग गर्न पाउँछन्। त्यसपछि या त सेना फिर्ता बोलाउनुपर्छ, या युद्ध जारी राख्न संसदबाट अनुमति लिनुपर्छ, वा थप ३० दिनको समय माग्नुपर्छ।
ट्रम्पले मार्च १ मा संसदलाई ईरानमाथिको हमलाबारे जानकारी दिएका थिए, जसअनुसार ६० दिनको समयसीमा मे १ मा सकिँदैछ।
पछिल्लो २४ घण्टाका प्रमुख अपडेटहरू:
-
ट्रम्पले ‘ट्रुथ सोसल’ मा तस्बिर सार्वजनिक गर्दै “तूफान अगाडि बढ्दैछ, कसैले रोक्न सक्दैन” भन्ने चेतावनी दिएका छन्।
-
ईरानका सर्वोच्च नेता मुजतबा खामेनेईले आक्रमणकारीलाई समुद्रमा डुबाउने चेतावनी दिएका छन्।
-
कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल १२६ डलरसम्म पुगेको थियो, पछि घटेर करिब ११५ डलरमा झरेको छ।
-
मुजतबा खामेनेईको स्वास्थ्य अवस्थाबारे अझै स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
-
विश्वकै ठूलो विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्ड ३०० दिनभन्दा बढी तैनाथीपछि अमेरिका फर्किँदैछ।
आर्थिकन्यूज
प्रतिक्रिया