शीर्षकहरू

नेप्सेमा ठूलो सुधार : २४सै घण्टा सेयर अर्डर प्रणाली स्वीकृत, विदेशमा रहेका लगानीकर्तालाई राहत

नेप्सेमा ‘अफ्टर मार्केट अर्डर’देखि सर्किट ब्रेकसम्म ठूलो सुधार, पूँजी बजार संरचना बदलिँदै

नेप्सेमा ठूलो सुधार : २४सै घण्टा सेयर अर्डर प्रणाली स्वीकृत, विदेशमा रहेका लगानीकर्तालाई राहत

काठमाडौं । नेपालको पूँजी बजार सञ्चालनमा ऐतिहासिक मानिने परिवर्तन भएको छ।  संशोधित धितोपत्र कारोबार विनियमावलीअनुसार अब पहिलो पटक ‘अफ्टर मार्केट अर्डर’ प्रणाली लागू गरिने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा महत्वपूर्ण संशोधन स्वीकृत गर्दै अब लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद-बिक्री आदेश (अर्डर) दिन सक्ने व्यवस्था लागू गर्ने भएको छ।

यसअघि लगानीकर्ताले नेप्सेको नियमित कारोबार समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) भित्र मात्र अर्डर प्रविष्ट गर्न पाउने व्यवस्था थियो। तर नयाँ प्रावधानपछि बजार बन्द भए पनि अनलाइनमार्फत जुनसुकै समयमा अर्डर दिन सकिनेछ। यसले समय अभाव वा भौगोलिक दूरीका कारण बजारमा सहभागी हुन नसक्ने लगानीकर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ।

नेप्सेले सुरुमा कारोबार समय बाहेक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र ‘अफ-आवर अर्डर’ प्रणाली सञ्चालन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले त्यसलाई परिमार्जन गर्दै पूर्ण २४ घण्टा नै अर्डर दिन मिल्ने व्यवस्था स्वीकृत गरेको हो।

यो निर्णय विशेषगरी विदेशमा रहेका नेपाली लगानीकर्ताका लागि महत्वपूर्ण मानिएको छ। समय भिन्नताका कारण बजार समयमा कारोबार गर्न नसक्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको आधारमा अधिकतम २ प्रतिशतसम्म माथि वा तल मूल्य समायोजन गरेर अर्डर प्रविष्ट गर्न सक्नेछन्। यसले मूल्य अस्थिरता नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेप्सेले अर्डर संकलन समय र प्रविधिक कार्यान्वयनबारे थप निर्णय गर्ने जनाएको छ।

दैनिक मूल्य उतार–चढाव सीमा १५% सम्म, कारोबार र प्रि–ओपन नियम पनि खुकुलो

नयाँ व्यवस्थाअनुसार अब कुनै पनि सेयरको दैनिक मूल्य १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। हालको अधिकतम १० प्रतिशत सीमालाई विस्तार गरिएको हो।

प्रत्येक कारोबार (ट्रेड) मा मूल्य उतार–चढावको सीमा पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्‍याइने भएको छ। यसले कारोबारमा थप लचकता ल्याउने अपेक्षा गरिएको छ।

प्रि-ओपन सेसन (बिहान १०:३० देखि १०:४५ सम्म) मा अब सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। हाल यो सीमा २ प्रतिशत मात्र रहेको थियो।

सर्किट ब्रेकर प्रणालीमा ठूलो परिवर्तन

संशोधित विनियमावलीले सर्किट ब्रेकर प्रणालीमा पनि महत्वपूर्ण परिवर्तन गरेको छ। नेप्सेले तीन तहको सर्किट ब्रेकर प्रस्ताव गरे पनि बोर्डले त्यसलाई घटाएर दुई तहमा सीमित गरेको छ।

पहिलो सर्किट: सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेट रोक्ने

दोस्रो सर्किट: ८ प्रतिशतको उतारचढाव भएमा सो दिनको कारोबार नै बन्द हुने

यसअघि पहिलो सर्किट ४ प्रतिशत, दोस्रो ५ प्रतिशत र तेस्रो ६ प्रतिशतको सीमामा लागू हुने व्यवस्था थियो।

बोर्डका अनुसार यो परिवर्तन बजारलाई अझ लचिलो, आधुनिक र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यले गरिएको हो। जेनजी आन्दोलनपछि बनेको सरकारले गठन गरेको आर्थिक सुधार सुझाव कार्यदलको सिफारिसका आधारमा पनि बजार संरचनामा सुधारको पहल अघि बढाइएको बताइएको छ।

कार्यदलले नेप्से सूचकलाई इक्विटी इन्डेक्सका रूपमा पुनः संरचना गर्न, कारोबारयोग्य सेयरका आधारमा नयाँ बेन्चमार्क सूचक विकास गर्न तथा सर्किट ब्रेकर प्रणाली पुनरावलोकन गर्न सुझाव दिएको थियो।

विदेशमा रहेका लगानीकर्तालाई ठूलो राहत, गैरआवासीय नेपालीलाई पनि सहज हुने 

नयाँ व्यवस्थाले गैरआवासीय नेपाली (एनआरएन) लाई पनि पूँजी बजारमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ। आर्थिक सुधार सुझाव आयोगले समेत एनआरएनलाई दोस्रो बजारमा प्रत्यक्ष सहभागिताको वातावरण बनाउनुपर्ने सुझाव दिएको थियो।

नेप्सेका अनुसार यी सबै परिवर्तन छिट्टै लागू हुने मिति तोकिनेछ। यसले बजारमा नयाँ ऊर्जा थप्ने र लगानीकर्ताको सहभागिता तथा विश्वास दुवै बढाउने विश्वास गरिएको छ।

नेप्सेका प्रवक्ताका अनुसार बोर्डको स्वीकृति प्राप्त भइसकेकाले सञ्चालक समितिको औपचारिक निर्णयपछि नयाँ व्यवस्था छिट्टै कार्यान्वयनमा आउनेछ। आवश्यक प्राविधिक तयारी पूरा भइसकेको पनि जनाइएको छ।

यो परिवर्तनले नेपाली पूँजी बजारलाई समय सीमाको घेराबाट बाहिर निकाल्दै विश्व बजारसँग जोड्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया