शीर्षकहरू

मेची इन्डष्ट्रिजको आईपीओका लागि एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त

मेची इन्डष्ट्रिजको आईपीओका लागि एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा जारी गर्ने प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्शदाता नियुक्त गरेको छ।

बुधबार सम्पन्न एक कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको जनाएको छ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा सेयर रजिस्ट्रार सेवा प्रदान गर्दै आएको छ।

झापाको दमकस्थित ताराबारीमा उद्योग सञ्चालन गरिरहेको मेची इन्डष्ट्रिजले बालुवा, सिमेन्ट र चुनजस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गरी अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लक उत्पादन गर्दै आएको छ। यी ब्लकहरू हलुका, वातावरणमैत्री र परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने बताइएको छ।

कम्पनीको वार्षिक उत्पादन क्षमता २१ लाख ६० हजार थान रहेको छ। उच्च चापयुक्त बाफ प्रविधि प्रयोग गरी उत्पादन गरिने यी ब्लकहरू ताप तथा आगो प्रतिरोधी हुने कम्पनीको दाबी छ।

यसका अतिरिक्त कम्पनीले एएसी ब्लक जडानमा प्रयोग हुने एडहेसिभ, रेडिमिक्स प्लास्टर तथा वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडानलाई तीव्रता दिएको छ। यी उत्पादनहरू निकट भविष्यमै बजारमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया