शीर्षकहरू

सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, यस्तो छ वित्तीय अवस्था ?

सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, यस्तो छ वित्तीय अवस्था ?

काठमाडौं। सोपान फर्मास्युटिकल्स लिमिटेडले आज (बैशाख ३) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हिस्सा बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याई बाँडफाँट गरिसकिएको छ। त्यस्तै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

अब बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

छिटोमा बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि बैशाख १७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत तथा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत दिन सकिनेछ।

आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम संकेत गर्दछ।

सोपान फर्मास्युटिकल्स : परिचय, पूँजी संरचना र वित्तीय अवस्था

सोपान फर्मास्युटिकल्स लिमिटेड २०६६ भदौ ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भएको हो। उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको कम्पनीले २०६६ माघ १२ गते औषधि उद्योग स्थापनाका लागि औषधि व्यवस्था विभागबाट सिफारिस लिएको थियो। ललितपुरको महालक्ष्मीस्थानमा केन्द्रीय कार्यालय रहेको कम्पनीले २०७८ सालदेखि औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

कम्पनीले १९० भन्दा बढी औषधिको फर्मुलेसन तथा विकासमा सफलता हासिल गरिसकेको जनाएको छ। हालसम्म १३९ प्रकारका औषधिको उत्पादन अनुमति र ७० प्रकारका औषधिको बजार अनुमति प्राप्त गरिसकेको छ।

पूँजी संरचनातर्फ कम्पनीको अधिकृत तथा जारी पूँजी दुवै १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको छ। हालसम्म संस्थापक समूहबाट १ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम भएको छ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुग्नेछ, जसमा संस्थापकको ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत स्वामित्व रहनेछ। आईपीओबाट संकलित रकम बैंक ऋण भुक्तानी, नयाँ परियोजना विस्तार तथा कार्यशील पूँजी व्यवस्थापनमा उपयोग गर्ने योजना कम्पनीको छ।

वित्तीय अवस्थाअनुसार कम्पनी नाफामा सञ्चालनमा रहेको छ। आर्थिक वर्ष २०७९/८० सम्म १८ करोड ३५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा रहेको कम्पनीको नाफा २०८०/८१ मा १० करोड ८ लाख रुपैयाँभन्दा माथि रहेको छ। आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको सञ्चित नाफा ३२ करोड ९० लाख रुपैयाँभन्दा बढी पुगेको छ। सो अवधिसम्म प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ८५ पैसा र आम्दानी ७० पैसा रहेको छ भने सञ्चित नाफा ३३ करोड ८० लाख रुपैयाँभन्दा बढी पुगेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा र नेटवर्थ १०२ रुपैयाँ ६१ पैसा पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ। यस अवधिमा सञ्चित नाफा ४७ करोड ४७ लाख रुपैयाँभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।

हाल कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ। डा. अनिल पोखरेल अध्यक्ष रहेका छन् भने कृति कुमारी महतो, भीमलाल पौड्याल, अनिस साह र आङ दोर्जी लामा सञ्चालक छन्। हाल स्वतन्त्र सञ्चालक नरहेको कम्पनीले आगामी साधारण सभाबाट नियमावली संशोधन गरी स्वतन्त्र सञ्चालकसहित सात सदस्यीय संरचना कायम गर्ने योजना बनाएको छ।

आईपीओ बाँडफाँटपछि कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकरणपछि दोस्रो कारोबार दिनदेखि सेयर कारोबार सुरु हुनेछ। विद्यमान व्यवस्थाअनुसार पहिलो कारोबार मूल्य प्रतिशेयर नेटवर्थका आधारमा निर्धारण हुने हुँदा कम्पनीको प्रारम्भिक कारोबार मूल्य न्यूनतम ९२ रुपैयाँ १५ पैसादेखि अधिकतम २७६ रुपैयाँ ४५ पैसासम्मको दायरामा रहनेछ। त्यसपछिको मूल्य भने बजारमा माग र आपूर्तिका आधारमा तय हुनेछ।

प्रतिक्रिया