काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल २० प्रतिशत सेयर जारी गर्ने योजना बनाएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले यसअघि नै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ। यसैक्रममा आगामी वैशाख ११ गते काठमाडौँको म्यारियट होटल, नागपोखरीमा दिउँसो ३ बजे योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त छलफलमा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताबाट सुझाव संकलन गरिनेछ। बुक बिल्डिङ प्रक्रियाअन्तर्गत यही संस्थागत लगानीकर्ताले तय गर्ने ‘आशय मूल्य’का आधारमा आईपीओको अन्तिम मूल्य निर्धारण हुनेछ।
निर्धारित मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारण लगानीकर्ताले सेयर खरिद गर्न पाउने व्यवस्था रहनेछ।
हालसम्म कम्पनीले नेपाल धितोपत्र बोर्डमा औपचारिक आवेदन नदिएको भए पनि आईपीओ निष्कासनको तयारीस्वरूप संस्थागत छलफल अघि बढाइएको हो।
नर्भिक अस्पतालले निजी क्षेत्रबाट स्थापित गुणस्तरीय स्वास्थ्य सेवालाई विस्तार गर्दै जनसहभागितामार्फत सेवा थप सुदृढ गर्ने उद्देश्यसहित आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिसकेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया