काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले कुल ३ लाख ३ हजार ६७ कित्ता सेयर निष्काशन गरेकोमा ८५ हजार २१८ जनाले आवेदन दिएका थिए। तीमध्ये ७६ हजार २८९ आवेदन योग्य ठहर भएका थिए। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका आवेदकमध्ये ३० हजार ३०६ जनालाई सेयर प्राप्त भएको छ। अधिकांशले १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनाले ११ कित्तासम्म प्राप्त गरेका छन्।
यसअघि कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि १२ लाख कित्ता सेयर निष्काशन गरेको थियो। उक्त निष्काशनमा १३ हजार ५३६ आवेदन परेका थिए, जसमा १३ हजार ४७९ योग्य ठहरिएका थिए।
स्थानीयतर्फ ९० कित्तासम्म आवेदन दिनेले मागअनुसार नै सेयर पाएका थिए भने १०० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिनेले पनि ९० कित्ता नै पाएका थिए। गोलाप्रथाबाट थप ५ हजार ३३३ जनाले १० कित्ताका दरले अतिरिक्त सेयर पाएका छन्। यसरी स्थानीयले अधिकतम १०० कित्तासम्म सेयर पाएका छन्।
अब कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ। धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो।
भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७८ वैशाख १ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया