काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रूसी तेल खरिदमा खर्च हुने प्रत्येक डलर युक्रेनमाथि भइरहेका आक्रमणमै प्रयोग भइरहेको उल्लेख गरे। उनका अनुसार यस्तो आर्थिक प्रवाहले युद्धलाई थप तीव्र बनाउँदै विनाशकारी असर बढाइरहेको छ।
यद्यपि उनले स्पष्ट रूपमा नाम उल्लेख नगरे पनि डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले हालै रूसी तेल निर्यातसम्बन्धी प्रतिबन्धमा दिएको अस्थायी छुटतर्फ संकेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी प्रशासनले समुद्री मार्गबाट रूसी तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न एक महिनाका लागि छुट विस्तार गरेको थियो, जसको उद्देश्य मध्यपूर्व तनावका कारण बढ्दो ऊर्जा मूल्य नियन्त्रण गर्नु रहेको बताइएको छ।
जेलेन्स्कीका अनुसार हाल समुद्रमा ११० भन्दा बढी रूसी ट्याङ्करहरूले अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गर्दै कच्चा तेल ढुवानी गरिरहेका छन्, जसमा करिब एक करोड २० लाख टन तेल रहेको अनुमान छ। उनले प्रतिबन्ध खुकुलो पारिँदा यी स्रोतहरू सजिलै बिक्री भई करिब १० अर्ब डलर आम्दानी हुन सक्ने र उक्त रकम युक्रेनविरुद्धको युद्धमा प्रयोग हुने दाबी गरे।
उनले पछिल्लो एक सातामा मात्रै रूसले दुई हजारभन्दा बढी आक्रमणकारी ड्रोन, एक हजारभन्दा बढी निर्देशित हवाई बम र दर्जनौँ मिसाइल प्रहार गरेको जानकारी दिँदै युद्धको तीव्रता घट्ने संकेत नदेखिएको बताए।
उत्तरी सहर चेर्निहिभमा भएको पछिल्लो आक्रमणमा एक किशोरको मृत्यु भएको र अन्य घाइते भएको जनाउँदै उनले सर्वसाधारणमा त्रास अझ बढेको उल्लेख गरे।
जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रूसी तेल ढुवानी रोक्न र ट्याङ्करहरूलाई बन्दरगाहसम्म पुग्न नदिन कडा कदम चाल्न आग्रह गरेका छन्। उनका अनुसार रूसी तेल निर्यात नियन्त्रण गर्न सके मात्र युद्ध क्षमता कमजोर पार्न सकिनेछ।
आर्थिकन्यूज
प्रतिक्रिया