काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (वैशाख ८) अन्तिम दिन रहेको छ।
कम्पनीले वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन अघि बढाएको हो।
कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशनको अनुमति कम्पनीले पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ। त्यस्तै १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर (३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिएको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेडले पाएको छ।
आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा माध्यमबाट दिन सकिने व्यवस्था छ।
रेटिङतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्ट गरिएको फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत र खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख रुपैयाँभन्दा बढी रहेको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया