काठमाडौं । सेयर बजार हेरफेर र संगठित कारोबार प्रकरणमा उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
ब्युरो प्रमुख मनोज केसीका अनुसार जिल्ला अदालत काठमाडौंको अनुमति लिएर धितोपत्रसम्बन्धी कसुरमा गोल्छालाई पक्राउ गरिएको हो। उनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष हुन्।
गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको केसीले बताए ।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएकाले सोही आधारमा आजै काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।
बोर्डले तयार पारेको ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’ का आधारमा गोल्छासहित ६ जनामाथि संगठित रूपमा सेयर मूल्य हेरफेर गरेको आशंका गरिएको छ।
सोही प्रतिवेदन अर्थ मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालय हुँदै सीआईबीमा पुगेपछि अनुसन्धान अघि बढाइएको हो। प्रतिवेदनअनुसार दीपक भट्ट नेतृत्वको समूहले दोस्रो बजारमा कृत्रिम माग सिर्जना गरी सूचीकृत कम्पनीहरूको सेयर मूल्य बढाउने काम गरेको उल्लेख छ। उक्त कारोबारमा गोल्छालाई ‘सहयोगी’को रूपमा राखिएको छ।
अर्बौं रकमको प्रयोगमा प्रश्न
छानबिनमा नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका कम्पनीसँग सम्बन्धित स्रोत प्रयोग गरी दोस्रो बजारमा ठूलो परिमाणमा लगानी गरिएको देखिएको छ।
गोल्छा अध्यक्ष रहेका बेला हिमालयन रिइन्स्योरेन्सबाट करिब २ अर्ब ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको र त्यसमध्ये करिब २ अर्ब २१ करोड रुपैयाँ भट्ट समूहलाई सेयर खरिदका लागि उपलब्ध गराइएको प्रारम्भिक निष्कर्ष छ।
भृकुटी स्टक ब्रोकिङमार्फत सञ्चालन गरिएको कारोबारमा गोल्छालाई करिब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको समेत प्रतिवेदनमा उल्लेख छ।
विशेषज्ञहरूका अनुसार पब्लिक लिमिटेड कम्पनीको कोष यसरी प्रयोग गर्नु कम्पनी ऐन, बीमा नियमन र कर्पोरेट सुशासनका सिद्धान्तविपरीत गम्भीर उल्लंघन हुन सक्छ।
प्रकरणमा संलग्न भनिएका सुलभ अग्रवाल र उनका साझेदारहरू यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा छन्।
रुपेश केसी नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सेबोनले पारित गरिसकेको छ। अब सीआईबीमार्फत मुद्दा दर्ता र थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।
प्रहरी स्रोतका अनुसार गोल्छामाथिको अनुसन्धान जारी रहेको छ र संलग्नता तथा कानुनी जिम्मेवारीबारे थप तथ्य खुल्नेक्रममै छ।
आर्थिकन्यूज
प्रतिक्रिया