काठमाडौं। धितोपत्र बजारमा देखिएको जालसाजी प्रकरणमा तानिएका व्यवसायी शेखर गोल्छा हाल प्रहरीको निगरानीमा रहे पनि पक्राउ परेका हुन् वा होइनन् भन्ने विषयमा अन्योल देखिएको छ।
हिमालयन रिइन्स्योरेन्सका संस्थापक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पर्कमा रहन निर्देशन दिएको छ। भैरहवा हुँदै भारत जान लागेको हल्ला फैलिएपछि प्रहरीले उनीसँग सम्पर्क गरेको हो।
गोल्छाले भने आफू पक्राउ नपरेको र आवश्यक पर्दा प्रहरीसमक्ष उपस्थित हुने बताएका छन्। ‘प्रहरीबाट फोन आएको थियो, बोलाएको समयमा म उपस्थित हुन्छु,’ उनले प्रतिक्रिया दिएका छन्।
तर, केही स्रोतहरूले भने उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको दाबी गरेका छन्। यद्यपि नेपाल प्रहरीले औपचारिक रूपमा पक्राउ पुष्टि गरेको छैन।
सेबोनको प्रतिवेदनमा गोल्छा ‘सहयोगी’
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’मा गोल्छालाई दीपक भट्ट नेतृत्वको जालसाजीपूर्ण कारोबारमा सहयोगीको रूपमा उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका सूचीकृत कम्पनीहरूको सेयर मूल्य कृत्रिम रूपमा बढाउन दोस्रो बजारमा संगठित रूपमा माग सिर्जना गरिएको थियो। उक्त कारोबारमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिसेस, हिमालय सेक्युरिटी बैंकर, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता तथा गोल्छासहितका व्यक्तिहरूको रकम प्रयोग भएको उल्लेख छ।
भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत गरिएको कारोबारमा भट्ट मुख्य भूमिकामा रहेको र गोल्छालाई करिब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समेत प्रतिवेदनमा जनाइएको छ।
कम्पनीकोष प्रयोगमा गम्भीर उल्लंघन
अनुसन्धानले हिमालयन रिइन्स्योरेन्सले सहायक कम्पनी हिमालयन सेक्युरिटिजमा लगानी गरेको रकम दोस्रो बजारमा प्रयोग गरिएको देखाएको छ।
गोल्छा अध्यक्ष रहेका बेला करिब २ अर्ब ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको थियो, जसमध्ये करिब २ अर्ब २१ करोड रुपैयाँ भट्टलाई सेयर खरिदका लागि उपलब्ध गराइएको पाइएको छ।
प्रचलित कम्पनी ऐन, बीमा नियमन र कर्पोरेट सुशासनका आधारभूत सिद्धान्तअनुसार यस्तो कार्य गम्भीर उल्लंघन मानिन्छ।
राजीनामापछि अनुसन्धान तीव्र
जालसाजी कारोबारको विवरण सार्वजनिक भएपछि गोल्छाले फागुन २५ गते हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए, जुन चैत ५ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको थियो।
यसैबीच, उक्त प्रकरणमा भट्ट र उनका साझेदार सुलभ अग्रवाल यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा हिरासतमा छन्।
सेबोनको निष्कर्ष : भट्ट मुख्य दोषी
सेबोनले सोही प्रकरणमा भट्टलाई मुख्य दोषी ठहर गर्दै सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहमाथि पनि कारबाही सिफारिस गरेको छ।
रुपेश केसी नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन सेबोनले पारित गरिसकेको छ र अर्थ मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालयमा पठाइएको छ। अब सीआईबीमार्फत मुद्दा प्रक्रिया अघि बढ्ने तयारी छ।
हाल यो प्रकरणमा थप अनुसन्धान जारी रहेको छ भने गोल्छाको कानुनी अवस्था स्पष्ट हुनेक्रम जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
आर्थिकन्यूज

प्रतिक्रिया