शीर्षकहरू

कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी

कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी

काठमाडौँ। गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी भएका छन्। शून्य ह्यान्डिक्यापमा खेलेका उनले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि आफ्नो नाममा लेखाएका हुन्।

तेन्जिङले बोगी–रहित उत्कृष्ट प्रदर्शन गर्दै ८, ११ र १३औँ होलमा बर्डी बनाएका थिए। जितसँगै उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग लगायतका आकर्षक पुरस्कार प्राप्त गरेका छन्।

सन्‍योग शाहि ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता बने। सात ह्यान्डिक्यापमा खेलेका उनले अगाडिको नौ होलमा १६ र पछाडिको नौ होलमा २१ अंक जोडेका थिए।

ताशी छिरिङले बेस्ट ग्रस र मोस्ट बर्डीज दुवै उपाधि जिते। उनले ३९ ग्रस अंकसहित बेस्ट ग्रस जित्दा पाँच बर्डी बनाउँदै मोस्ट बर्डीजको उपाधि पनि हात पारे।

महिला तर्फ सुष्मा सिंह ३८ अंकसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता भइन्। सुष्माले पनि पुरुष विजेतासरह मलेसिया भ्रमणसहितका पुरस्कार प्राप्त गरिन्।

६० वर्ष वा सोभन्दा माथिका सिनियरतर्फ बाबु शेर्पा ३६ अंकसहित विजेता बने। उनले अगाडिको नौ होलमा १५ र पछाडिको नौ होलमा २१ अंक जोडेका थिए।

प्रतियोगितामा शंकर मान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ अवार्ड जित्दा डार्टानियन गियर्केले ‘लङ्गेस्ट ड्राइभ’ उपाधि हात पारे।

गोरखा ब्रुअरी प्रालिको प्रायोजनमा आयोजित प्रतियोगितामा १११ खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिता ¾ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड ढाँचामा खेलाइएको थियो। विजेताहरूलाई आयोजक तथा गोकर्ण गल्फ क्लबका पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया