शीर्षकहरू

वीरगन्ज नाकाबाट २६ अर्बभन्दा बढीका सवारीसाधन र पार्टपुर्जा आयात, विद्युतीय सवारी तीव्र वृद्धि

वीरगन्ज नाकाबाट २६ अर्बभन्दा बढीका सवारीसाधन र पार्टपुर्जा आयात, विद्युतीय सवारी तीव्र वृद्धि

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब १३ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात ६ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ३६.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा १९ अर्ब १९ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए।

वीरगन्ज भन्सार कार्यालय का अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा मात्रै पार्टपुर्जा आयातबाट १८ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको १४ अर्ब ८४ करोडभन्दा उल्लेख्य वृद्धि हो।

तथ्याङ्कअनुसार इन्धनबाट चल्ने जीप, कार र भ्यानको आयात भने घटेको छ। चालु आवमा १ अर्ब १७ करोड रुपैयाँका ५९१ वटा यस्ता सवारी आयात भएका छन्, जबकि अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँका ८०५ वटा आयात भएका थिए।

मोटरसाइकल आयात भने उल्लेख्य रूपमा बढेको छ। चालु आवमा ६ अर्ब ४२ करोड रुपैयाँका ४५ हजार ६२० वटा मोटरसाइकल आयात भएका छन्, जुन गत वर्षको ४ अर्ब ६७ करोड रुपैयाँका ३५ हजार ७९९ वटा भन्दा धेरै हो।

त्यस्तै, कृषि प्रयोजनका ट्याक्टर तथा टिलरको आयात पनि बढेको छ। चालु आवमा २ अर्ब ४ करोड रुपैयाँका २१ हजार ६३९ वटा यस्ता सवारी आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।

विद्युतीय सवारीसाधनतर्फ झन् तीव्र वृद्धि देखिएको छ। चालु आवमा २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएका छन्, जुन गत वर्षको तुलनामा १०२ प्रतिशतले बढी हो।

विशेषगरी विद्युतीय जीप, कार र भ्यानको आयात तीव्र रूपमा बढेको छ। चालु आवमा १ अर्ब ४६ करोड रुपैयाँका ४९३ वटा आयात भएका छन्, जबकि अघिल्लो वर्ष ४८ करोड रुपैयाँका १७२ वटा मात्र आयात भएका थिए।

समग्रमा, पेट्रोलियम सवारीको आयात केही घटे पनि विद्युतीय सवारी र दुईपाङ्ग्रे साधनको माग बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया