शीर्षकहरू

तत्कालिन किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादी रोहितलाल श्रेष्ठ पक्राउ

तत्कालिन किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादी रोहितलाल श्रेष्ठ पक्राउ

काठमाडौँ । बैंकिङ कसूर (तत्कालिन किष्ट बैंक घोटाला) मुद्दामा फरार रहेका प्रतिवादी रोहितलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–३, महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका–१ साङ्लाका ४८ वर्षीय हुन्।

सर्वोच्च अदालतले २०८० असोज १५ गते गरेको फैसलाअनुसार उनलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना तोकिएको थियो। तर फैसलापछि उनी फरार रहेका थिए।

मुद्दाअनुसार तत्कालिन किष्ट बैंकको ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रहँदा श्रेष्ठले टेलर हेडको जिम्मेवारी समेत सम्हालेको अवस्थामा बैंकलाई झुक्याएर हानि–नोक्सानी पुर्‍याएको आरोप छ।

अनुसन्धान अनुसार उनले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी र नक्कली सुरक्षा गार्ड समेत प्रयोग गरी बैंकिङ प्रणालीमा अनियमितता गरेको पाइएको थियो।

लामो समय फरार रहेका उनलाई पक्राउ गरेपछि सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ। अदालतले तोकेको सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया