शीर्षकहरू

अर्धमासिक तलब प्रणाली सुरु: बजार चलायमान बनाउने लक्ष्यसहित सरकारको नयाँ प्रयोग

अर्धमासिक तलब प्रणाली सुरु: बजार चलायमान बनाउने लक्ष्यसहित सरकारको नयाँ प्रयोग

काठमाडौं। सरकारले निजामती कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलब दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले पाइलट परियोजनाका रूपमा बुधबारदेखि अर्धमासिक तलब भुक्तानी प्रणाली सुरु गरेको जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रणालीको औपचारिक शुभारम्भ गर्दै यसले अर्थतन्त्रमा माग र उपभोग बढाउने अपेक्षा व्यक्त गरे। “१५ दिनमा तलब दिँदा बजारमा तरलता बढ्छ, उपभोग विस्तार हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ,” उनले भने।

नयाँ प्रणालीअन्तर्गत महालेखा नियन्त्रक कार्यालयले ‘कम्प्युटराइज्ड गभर्नमेन्ट एकाउन्टिङ सिस्टम’ (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर अर्धमासिक तलब प्रवाह सुरु गरेको हो। सुरुवातमै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरिसकेका छन्।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्राविधिक रूपमा प्रणाली तयार भइसकेको भन्दै क्रमशः प्रदेश तथा अन्य सरकारी निकायमा पनि विस्तार गरिने बताए। उनका अनुसार अहिलेको डिजिटल प्रणालीबाट कर्मचारीले चाहेको अवधिमा तलब उपलब्ध गराउन सकिने अवस्था बनेको छ।

सरकारले यस व्यवस्थाबाट बजारमा नियमित नगद प्रवाह कायम रहने, साना व्यवसायमा कारोबार बढ्ने र उपभोग खर्च सन्तुलित रूपमा फैलिने विश्वास लिएको छ। साथै डिजिटल भुक्तानी प्रणालीको विस्तारमा समेत यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सरकारले गत वैशाख ४ गते नै अर्धमासिक तलब प्रणाली लागू गर्ने निर्णय गरेको थियो, जसलाई अब परीक्षणका रूपमा कार्यान्वयनमा ल्याइएको हो।

प्रतिक्रिया