शीर्षकहरू

इन्धन मूल्यवृद्धिको दबाबमा एयर इन्डियाको दैनिक १०० भन्दा बढी उडान कटौती, घाटा थप गहिरिँदै

इन्धन मूल्यवृद्धिको दबाबमा एयर इन्डियाको दैनिक १०० भन्दा बढी उडान कटौती, घाटा थप गहिरिँदै

एजेन्सी । टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया लिमिटेडले खर्बौं रुपैयाँ घाटा र इन्धन मूल्यवृद्धिको दबाबका बीच दैनिक १०० भन्दा बढी उडान कटौती गर्ने भएको छ ।

एयरलाइन्सले एयर टर्बाइन फ्युल (एटीएफ) को तीव्र मूल्यवृद्धिका कारण सञ्चालन खर्च अत्यधिक बढेपछि शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो । यस कदमले घरेलु तथा अन्तर्राष्ट्रिय दुवै सेवामा असर पर्ने बताइएको छ ।

हाल एयर इन्डियाले दैनिक करिब १ हजार १ सय उडान सञ्चालन गर्दै आएको छ । नयाँ निर्णयपछि करिब १० प्रतिशत उडान घट्नेछ । विशेषगरी युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र सिंगापुर जस्ता लामो दूरीका अन्तर्राष्ट्रिय रुटहरूमा कटौती केन्द्रित हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

दिल्ली र मुम्बईबाट लन्डन, पेरिस, न्यूयोर्क, टोरन्टो, सान फ्रान्सिस्को, सिड्नी र मेलबर्न जस्ता प्रमुख गन्तव्यमा उडान संख्या घट्ने सम्भावना रहेको छ ।

पछिल्ला हप्ताहरूमा जेट इन्धनको मूल्य करिब ८० प्रतिशतसम्म बढेपछि एयरलाइन्सको लागत उल्लेख्य रूपमा बढेको छ । सामान्यतया एयरलाइन्सको कुल आम्दानीको करिब ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको छ ।

भूराजनीतिक तनाव, हवाई मार्गमा प्रतिबन्ध र लामो रुटका कारण उडान अवधि बढ्दा पनि इन्धन खपत र लागत थप बढेको छ । यसले एयरलाइन्सको वित्तीय दबाब झनै चर्किएको बताइएको छ ।

एयर इन्डियाले हाल करिब २ खर्ब २० अर्ब भारु घाटा व्यहोरेको छ । सन् २०२२ मा टाटा समूहले सरकारी स्वामित्वबाट अधिग्रहण गरेपछि कम्पनी सुधारको प्रयास भइरहे पनि लागत संकट गहिरिँदै गएको छ ।

एयरलाइन्सले अब आफ्नो नेटवर्क पुनः संरचना गर्दै नाफामुखी रुटलाई प्राथमिकता दिने रणनीति अपनाउने बताइएको छ । साथै टाटा समूह र सिंगापुर एयरलाइन्सलगायत शेयरधनीबाट नयाँ लगानी खोज्ने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया