शीर्षकहरू

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्दै

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्दै

काठमाडौँ। स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले बैशाख २९ गतेदेखि ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याउने तयारी गरेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। साथै सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको हिस्सा पनि वितरण भइसकेको छ।

अब दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ७८ लाख रुपैयाँबराबरको शेयर निष्काशन गर्न लागिएको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बन्द हुने जनाइएको छ।

आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि साधारण आधारमा ८.१७ वर्ष र डिस्काउन्ट आधारमा १५.७७ वर्ष रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया