काठमाडौं। युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। सभाले कम्पनीका भविष्यका रणनीति र लगानी योजनासम्बन्धी महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ।
सभाको मुख्य निर्णयअनुसार कम्पनीले १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले अब नेपाल धितोपत्र बोर्ड (सेबोन) र विद्युत नियमन आयोगमा स्वीकृतिका लागि प्रक्रिया अघि बढाउनेछ।
साथै, कम्पनीले आफ्नो संरचना परिवर्तन गर्दै ‘युनियन हाइड्रोपावर होल्डिङ लिमिटेड’ मा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ। यसका लागि प्रबन्धपत्र र नियमावली संशोधन गरिनेछ।
कम्पनीले हकप्रदबाट संकलित रकम २३ मेगावाट क्षमताको आयू मयू खोला जलविद्युत आयोजनामा लगानी गर्ने योजना बनाएको छ। हाल उक्त आयोजनाको करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
सभामा कम्पनी पूर्ण रूपमा ऋणमुक्त भइसकेको जानकारी पनि दिइएको छ। साथै, कम्पनीले अब दोस्रो बजारमा लगानी गर्न पाउने स्वीकृति प्राप्त गरेको छ, जसले लगानी विविधीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया