काठमाडौं। चिउरामा प्रयोग हुँदै आएको ‘कुरुम कुरुम’ ब्रान्डसम्बन्धी विवादमा उद्योग विभागले हाइलाइफको पक्षमा अन्तिम निर्णय सुनाएको छ। विभागले सिक्सभिल्ला प्रालिले दर्ता गराएको मिल्दोजुल्दो व्यापारिक चिन्ह बदर गर्दै उक्त ब्रान्ड प्रयोग गर्ने अधिकार नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालिलाई दिएको हो।
लामो समयदेखि चलिरहेको हाइलाइफ र सिक्सभिल्लाबीचको ट्रेडमार्क विवाद टुंग्याउँदै विभागले ‘हाइलाइफ’ नामक ब्रान्ड, त्यससँग सम्बन्धित लेबल, डिजाइन र रङ संयोजन पहिले नै बजारमा स्थापित भइसकेको ठहर गरेको छ। सिक्सभिल्लाले सोही चिन्हको रूप, बनावट र प्रस्तुति नक्कल गरी दर्ता गराएको निष्कर्ष विभागले निकालेको हो।
निर्णयसँगै अब चिउरा उत्पादनमा अन्य कम्पनीले ‘कुरुम कुरुम’ शब्द प्रयोग गर्न नपाउने भएका छन्। बजारमा पठाइसकिएको त्यस्तो उत्पादनसमेत फिर्ता लिनुपर्ने अवस्था आउनेछ।
विभागले दुवै पक्षले पेश गरेका प्रमाण, तर्क तथा सर्वोच्च अदालत का नजिरहरूको अध्ययनपछि सिक्सभिल्लाको दर्ता मौलिक नदेखिएको ठहर गरेको हो। लेबलको बनावट, अक्षरको शैली, रङ संयोजन र समग्र प्रस्तुति अत्यधिक मिल्दोजुल्दो रहेको निर्णयमा उल्लेख छ।
“व्यापारिक चिन्हको मूल उद्देश्य फरक पहिचान स्थापना गर्नु हो। पहिले नै बजारमा स्थापित चिन्हसँग मिल्ने गरी दर्ता गरिएको चिन्ह वैध मान्न सकिँदैन,” विभागको निर्णयमा भनिएको छ।
निर्णयमा व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गर्दै उद्यमीले सिर्जना गरेको चिन्हमा उसको एकाधिकार रहने र त्यसको संरक्षण गर्नु राज्यको दायित्व हुने उल्लेख गरिएको छ। उपभोक्तालाई भ्रममा पार्ने गरी मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु व्यापारिक मर्यादाविपरीत हुने पनि विभागले स्पष्ट पारेको छ।
यस निर्णयले नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, मौलिकताको सम्मान र उपभोक्ता हितको सुरक्षामा सकारात्मक सन्देश दिएको भन्दै बजारमा स्थापित ब्रान्डको नक्कल गर्ने प्रवृत्ति निरुत्साहित हुने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया