काठमाडौं। नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोतबारे उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसे ले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी सार्वजनिक प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने पार्टीको पूर्वनिर्णय दोहोर्याइएको छ। “पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ हुन्, त्यसैले यस्ता विषयमा निष्पक्ष छानबिन अपरिहार्य छ,” विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंकालाई ध्यान दिँदै छानबिन स्वतन्त्र र प्रभावरहित बनाउन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिइएको छ।
कांग्रेसले नैतिकता र स्वच्छ राजनीतिको पक्षमा आफू सधैं उभिँदै आएको उल्लेख गर्दै यस विषयलाई कुनै व्यक्ति वा दल विशेषविरुद्ध नभई समग्र राजनीतिक संस्कार सुधारसँग जोडेर हेर्नुपर्ने बताएको छ।
यस्तो छ विज्ञप्ति-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको छ। पारदर्शिता र जबाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको हाम्रो धारणा हो।
यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ। नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ।
यस सन्दर्भमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।
अत: नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरून्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ।
नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहनेछ।
जय नेपाल
देवराज चालिसे, प्रवक्ता
आर्थिकन्यूज
प्रतिक्रिया