काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी नयाँ व्यवस्था लागू गरेकै दिन बजार सूचकमा गिरावट आएको हो।
नेप्से परिसूचक १३.१७ अंकले घटेर २,८२५.२३ विन्दुमा झरेको छ। नयाँ नियम लागू भएपछि लगानीकर्ताहरूमा केही अस्थिरता देखिएको विश्लेषकहरूले बताएका छन्।
बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोमा सोमबार ३४९ स्टकको १ लाख १६ हजारभन्दा बढी पटकको कारोबारमार्फत ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहमा गिरावट देखिएको छ भने केवल होटल तथा पर्यटन उपसमूह १.०१ प्रतिशतले बढेको छ। अन्य सबै उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको नेप्सेले जनाएको छ।
यस दिन चार कम्पनीको शेयर मूल्य १५ प्रतिशतको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टका शेयरमा उच्च माग देखिएको हो। त्यस्तै झापा इनर्जीको शेयर करिब १२ प्रतिशत र रिज लाइन इनर्जीको शेयर ११ प्रतिशतले बढेको छ।
यता डोल्टी पावर कम्पनीको शेयर मूल्य भने सर्वाधिक ५.३५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको मात्रै ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि पनि सोलु हाइड्रोपावरकै उच्च कारोबार देखिएको छ भने नेशनल हाइड्रोपावरको कारोबार साढे २८ करोड रुपैयाँ नाघेको छ।
नेप्सेले लागू गरेको नयाँ व्यवस्थाअनुसार सूचीकरणपछिको पहिलो कारोबारमा मूल्य सीमालाई २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ भने दैनिक मूल्य घटबढ सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ।
तर, नयाँ व्यवस्थाप्रति लगानीकर्ताले असन्तुष्टि जनाएका छन्। उनीहरूले यसलाई बजारमैत्री नभएको भन्दै नेपाल धितोपत्र बोर्ड र नेप्सेप्रति आलोचना गरेका छन्। केही लगानीकर्ता संघहरूले संसदसम्म उजुरीसमेत दर्ता गरेका छन्।
सर्किट ब्रेक व्यवस्था ‘सेटिङ’ भएको आरोप, संसदीय छानबिनको माग गर्दै लगानीकर्ता संघले दर्ता गरायो उजुरी
नेपाल शेयर बजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डले लागू गरेको सर्किट ब्रेकसम्बन्धी नयाँ व्यवस्थालाई लिएर गम्भीर आपत्ति जनाएको छ। संघले उक्त व्यवस्था ‘सेटिङ र अनुचित प्रभाव’ मा गरिएको दाबी गर्दै संघीय संसदको प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेको छ।
संघले पूँजी बजारका ५६ लाखभन्दा बढी लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने नियामक निकायहरूले सीमित स्वार्थ समूहलाई लाभ पुग्ने गरी निर्णय गरेको आरोप लगाएको छ।
नयाँ व्यवस्थाअनुसार नेप्सेले सूचीकरणपछिको पहिलो कारोबारमा मूल्य सीमालाई २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको तथा दैनिक मूल्य घटबढको सीमा १० प्रतिशतबाट १५ प्रतिशत कायम गरेको छ। तर, संघले यसलाई कानुनी प्रक्रियाविपरीत भएको दाबी गर्दै आपत्ति जनाएको हो।
संघका अनुसार उक्त निर्णय विधायन ऐन २०८१, सुशासन ऐन २०६४ र सार्वजनिक लिखत प्रमाणीकरण नियमावली २०६३ को उल्लंघन भएको छ। साथै, बोर्ड, नेप्से र सिडिएससीजस्ता निकायहरूले ऐन र नियमावलीको मर्मविपरीत आफ्नै कार्यविधि बनाएर बजार सञ्चालन गर्न खोजेको आरोप पनि लगाइएको छ।
संघले नीतिगत अस्थिरता बढाउँदै लगानीकर्ताको सम्पत्तिमा जोखिम बढाइएको भन्दै तत्काल उच्चस्तरीय छानबिनको माग गरेको छ। बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी कानुनी कारबाही गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ।
त्यसैगरी, गैरकानुनी रूपमा लागू गरिएका नीतिगत व्यवस्थाहरू तत्काल खारेज गरी बजारलाई स्वच्छ र पारदर्शी बनाउनुपर्नेमा संघले जोड दिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया