काठमाडौं। यूएईविरुद्ध मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पहिलो खेलमा ६ विकेटको हार ब्यहोरेपछि नेपाल आज बराबरीको लक्ष्यसहित मैदान उत्रिएको हो।
यस खेलका लागि नेपाली टोलीमा चार परिवर्तन गरिएको छ। आज लोकेश बम, शाहब आलाम, आरिफ शेख र सन्तोष यादव प्लेइङ–११ मा परेका छन् भने सोमबारको खेल खेलेका बसिर अहमद, सन्दीप जोरा, अर्जुन साउद र शेर मल्ल टोलीबाट बाहिरिएका छन्।
सन्तोष यादवको डेब्यु
आजको खेलमा युवा अलराउन्डर सन्तोष यादवले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्। टसअघि उनलाई डेब्यु क्याप प्रदान गरिएको थियो। लुम्बिनी प्रदेशका सन्तोषले हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। उक्त प्रतियोगितामा उनले २१ विकेट लिनुका साथै २६५ रन बनाएका थिए।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्तोष यादव, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, शाहब आलाम र हेमन्त धामी रहेका छन्।
नेपालले आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप यूएईसँग टी–२० सिरिज खेलेको हो।
यसपछि नेपालले घरेलु मैदानमै ओमान र यूएईसहितको त्रिकोणात्मक एकदिवसीय सिरिज आयोजना गर्नेछ भने अर्को सिरिजमा अमेरिका र स्कटल्यान्ड पनि सहभागी हुनेछन्।

आर्थिकन्यूज
प्रतिक्रिया