शीर्षकहरू

उद्योगी पवन गोल्याणले भने : दीपक भट्ट र हिमालयन रिइन्स्योरेन्ससँग कुनै सम्बन्ध छैन

उद्योगी पवन गोल्याणले भने : दीपक भट्ट र हिमालयन रिइन्स्योरेन्ससँग कुनै सम्बन्ध छैन

काठमाडौं । प्रतिष्ठित उद्योगी पवनकुमार गोल्याणले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र उनी सम्बद्ध हिमालन रिइन्स्योरेन्ससँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । एउटा सञ्चारमाध्यममा भट्टसँग नाम जोडिएको समाचार प्रकाशित भएपछि गोल्याणले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट भ्रामक समाचारको खण्डन गरेका छन् ।

‘हाल अनुसन्धानको क्रममा रहनुभएका व्यवसायी दीपक भट्टसँग नाम जोडेर प्रकाशित भएको समाचारले मलाई आश्चर्यचकित पारेको छ । समाचारमा मेरो व्यक्तित्व, पेशागत आचरण तथा सामाजिक प्रतिष्ठामाथि प्रत्यक्ष असर पर्ने गरी भ्रामक, अप्रमाणित तथा कपोकल्पित विवरणहरू समावेश गरिएको छ,’ उनले भनेका छन्, ‘समाचारमा उल्लेख भएजसरी हाल अनुसन्धानमा रहनुभएका व्यवसायी दीपक भट्टसँग मेरो कुनै साझेदारी वा व्यावसायिक सम्बन्ध छैन र हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा समेत मेरो कुनै पनि प्रकारको शेयर (संस्थापक तथा साधारण) कुनै पनि कालखण्डमा रहेको छैन ।’

उनले प्रकाशित तथ्यहीन, भ्रामक र अनर्गल समाचारले आफे दशकौँदेखिको आर्जित सामाजिक मान–प्रतिष्ठा र विश्वासमाथि गम्भीर आँच पुगेको बताएका छन् । हचुवा र अनुमानको भरमा यति गम्भीर विषयमा कपोकल्पित रुपमा नाम जोड्नु पत्रकारिताको आधारभूत मूल्य–मान्यता र आचरण विपरीत कार्य भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारको गैर–जिम्मेवार र तथ्यहीन प्रकाशनले मेरो मात्र नभई, मेरो परिवारको छवि तथा हाम्रो ७० वर्षभन्दा बढी समयदेखि स्थापित सामाजिक प्रतिष्ठा र विरासतमा समेत गम्भीर आघात पु¥याएको छ ।’

गोल्याण ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका गोल्याणले गलत र भ्रामक समाचारमा विश्वास नगर्नु समस्त शुभचिन्तक, शेभेच्छुक, व्यापारी–व्यवसायी र आमनेपालीलाई आग्रह गरेका छन् । ‘असत्य तथा भ्रामक समाचार प्रकाशित हुँदा सर्वसाधारणको पत्रकारितामाथिको विश्वसनीयतामा मात्र नभई आमनागरिकको तथ्यपरक सूचना प्राप्त गर्ने अधिकारमा समेत गम्भीर आघात पर्दछ,’ उनले भनेका छन्, ‘मलगायत सम्बन्धित सरोकारवालाहरूको हित र संवेदनशीलतालाई ध्यानमा राखी आगामी दिनमा समाचार प्रकाशन गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

प्रतिक्रिया