शीर्षकहरू

शैक्षिक संस्थामा दलीय संरचना हटाउन प्रधानमन्त्रीको निर्देशन

शैक्षिक संस्थामा दलीय संरचना हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको करिब साढे तीन घण्टा लामो छलफलमा उपकुलपतिहरूसँग उनले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहले शैक्षिक संस्थामा कुनै पनि बहानामा राजनीतिक गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै क्याम्पस, अस्पताल र विद्यालयजस्ता संस्थालाई “पवित्र क्षेत्र” का रूपमा राख्नुपर्ने बताए। उनले दलीय झण्डा, प्रभाव वा संगठन राख्न नदिइने उल्लेख गर्दै राजनीति गर्न चाहनेले सम्बन्धित पेशागत जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा राखे।

छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठन हटाउने प्रयास गर्दा धम्की र आक्रमणको सामना गर्नुपरेको बताएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आवश्यक परे सुरक्षा संयन्त्र परिचालन गरिने र समस्या आएमा तत्काल जानकारी गराउन निर्देशन दिए।

उनले शैक्षिक क्यालेन्डरको पूर्ण कार्यान्वयन र परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न पनि कडाइका साथ निर्देशन दिएका छन्।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि दलीय संगठनका संरचना हटाउने विषयमा मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको र त्यसलाई ऐनले नरोक्ने बताए।

उपकुलपतिहरूले भने आ–आफ्नो संस्थाको अवस्थाबारे जानकारी गराएका थिए। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले पछिल्लो समय विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको बताए। अन्य विश्वविद्यालयका उपकुलपतिहरूले केही क्याम्पसमा अझै राजनीतिक प्रभाव कायम रहेको जनाउँदै प्रशासनिक कडाइ आवश्यक रहेको धारणा राखेका थिए।

प्रतिक्रिया