शीर्षकहरू

एन्फा नेतृत्वमाथि कडाइ : अध्यक्ष​​​​​​​ नेम्वाङसहित पदाधिकारीको विदेश यात्रामा रोक

एन्फा नेतृत्वमाथि कडाइ : अध्यक्ष​​​​​​​ नेम्वाङसहित पदाधिकारीको विदेश यात्रामा रोक

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाइएको छ। एन्फाको आर्थिक तथा संस्थागत गतिविधिमाथि छानबिन भइरहेका बेला सम्बन्धित निकायहरूले यस्तो निर्णय गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फासम्बन्धी विवाद र आर्थिक पक्षको अनुसन्धान गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको छ। खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त निर्देशनपछि उक्त समिति गठन गरिएको हो।

छानबिनका क्रममा पदाधिकारीहरू विदेश जान नपाउने व्यवस्था गर्न राखेपले खेलकुद मन्त्रालयलाई सिफारिस गरेको थियो। त्यसअनुसार मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्राचार गरेपछि नेम्वाङसहित पदाधिकारीहरूको राहदानी नियन्त्रणमा लिइएको हो।

राखेपका सदस्यसचिव रामचन्द्र मेहताले छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढिरहेको बताउँदै कानुनभन्दा माथि कोही नरहेको प्रतिक्रिया दिएका छन्। उनले खेलकुद क्षेत्रमा देखिएका विवाद समाधान गर्दै संस्थागत अनुशासन कायम गर्ने अभियानमा आफूहरू रहेको उल्लेख गरे।

यसअघि राखेपले निर्देशन उल्लङ्घन गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ प्रक्रिया अघि बढाएको भन्दै गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनकै अवस्थामा एन्फा नेतृत्व विश्व फुटबल महासङ्घ (फिफा) को कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा रहेको थियो।

प्रतिक्रिया