काठमाडौं । सरकारले गुन्द्रुकको उत्पादन, प्रशोधन, भण्डारण र बिक्री वितरणका लागि विस्तृत गुणस्तर मापदण्ड लागू गरेको छ। योसँगै अब नेपाली उपभोक्ताले प्रयोग गर्ने परम्परागत खाद्य पदार्थ गुन्द्रुक थप सुरक्षित र गुणस्तरीय हुने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गुन्द्रुकको स्पष्ट परिभाषादेखि यसको उत्पादन प्रक्रिया र प्याकेजिङसम्मका मापदण्ड तोकेको हो।
मन्त्रालयका अनुसार रायो, तोरी, मूलालगायतका सागपातलाई नुन नहाली प्राकृतिक वा ल्याक्टिक एसिड किण्वन विधिबाट तयार पारिने खाद्य पदार्थलाई गुन्द्रुक भनिन्छ। किण्वन प्रक्रियामा फलाम, एल्युमिनियम, तामा वा पित्तलका भाँडाको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ।
नयाँ मापदण्डअनुसार गुन्द्रुकमा ढुसी, किरा, बाह्य पदार्थ वा माटो, प्लास्टिक, धातुजस्ता अशुद्ध तत्व हुन नहुने स्पष्ट गरिएको छ। साथै कुनै पनि प्रकारका कृत्रिम रंग, सुगन्ध वा प्रिजरभेटिभ प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
सुक्खा गुन्द्रुकमा अधिकतम १२ प्रतिशत मात्र जलांश हुनुपर्ने, कुल भष्म १७ प्रतिशत र एसिडमा नघुल्ने भष्म १ प्रतिशतभन्दा बढी हुन नहुने प्रावधान तोकिएको छ। स्वास्थ्यका लागि हानिकारक मानिने ई–कोली जीवाणु प्रति ग्राम शून्य हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ।
त्यस्तै, विषादी अवशेष र हेभी मेटलको मात्रा मन्त्रालयले तोकेको सीमा भित्रै हुनुपर्नेछ। अब गुन्द्रुक प्याकेजिङ गर्दा खाद्य ग्रेडको सफा सामग्री प्रयोग अनिवार्य गरिएको छ। लेबलमा प्रयोग गरिएको सागपातको प्रकार र उत्पादन विधि स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ।
सरकारले उत्पादनदेखि ढुवानीसम्म सबै चरणमा स्वच्छता मापदण्ड पालना गर्नुपर्ने भन्दै यसले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया