शीर्षकहरू

मध्यपूर्व वार्ता पुनः सुरु हुने निश्चित भएपछि तेलको मूल्यमा गिरावट

मध्यपूर्व वार्ता पुनः सुरु हुने  निश्चित भएपछि तेलको मूल्यमा गिरावट

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावबीच शान्ति वार्ताको दोस्रो चरण हुने निश्चित भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको इस्लामाबाद भ्रमणमा जाने तयारीमा रहेको खबर सार्वजनिक भएसँगै लगानीकर्तामा युद्ध अन्त्यको सम्भावनाबारे आशा बढेको हो। पाकिस्तानको मध्यस्थतामा हुने उक्त वार्ताले अमेरिका–इरान तनाव न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

यसअघि अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा जवाफी कारबाही गरेको थियो। त्यससँगै क्षेत्रीय तनाव चर्किँदा विश्व ऊर्जा आपूर्ति प्रणालीमा दबाब परेको थियो।

विशेषगरी, विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने हर्मुज जलडमरूमध्य प्रभावित हुँदा बजारमा अनिश्चितता बढेको थियो। इरानले उक्त मार्ग बन्द गर्ने संकेत र अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी कायम राखेपछि तेलको मूल्य उकालो लागेको थियो।

तर, दोस्रो चरणको वार्ताको सम्भावनाले बजारमा केही सहजता ल्याएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।

यस्तै, इजरायल र लेबनानबीच तीन हप्ताका लागि युद्धविराम थप्ने सहमतिले पनि कूटनीतिक प्रयासलाई बल पुर्‍याएको विश्लेषकहरूको भनाइ छ।

वैश्विक वित्तीय बजारमा पनि सकारात्मक संकेत देखिएको छ। वाल स्ट्रिटका प्रमुख सूचकांकहरू उकालो लागेका छन् भने नास्डेक कम्पोजिट सूचकांकमा समेत वृद्धि देखिएको छ। युद्ध सुरु हुँदा देखिएको गिरावटबाट विश्व शेयर बजार क्रमशः सुधारतर्फ उन्मुख भएको छ।

प्रतिक्रिया