मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले सुस्त आर्थिक वृद्धि प्रति चेतावनी दिँदै सरकारी अधिकारीहरूलाई अर्थतन्त्रलाई गति दिन निर्देशन दिएको केही दिनपछि रुसको केन्द्रीय बैंकले प्रमुख ब्याजदर घटाएको छ।
केन्द्रीय बैंकले शुक्रबार ऋण लिने लागत १५ प्रतिशतबाट घटाएर १४.५ प्रतिशतमा झारेको घोषणा गरेको हो। बैंकले ब्याजदर घटाए पनि भविष्यमा मुद्रास्फीति बढ्ने जोखिमप्रति अझै चिन्तित रहेको जनाएको छ।
आधिकारिक तथ्यांकअनुसार युक्रेनसँगको लामो युद्ध र पश्चिमी प्रतिबन्धका कारण वर्षको पहिलो दुई महिनामा रुसको अर्थतन्त्र संकुचित भएको देखिएको छ। राष्ट्रपति पुटिनले गत हप्ता सरकारी बैठकमा जनवरी–फेब्रुअरी अवधिमा अर्थतन्त्र १.८ प्रतिशतले घटेको र आर्थिक वृद्धिको गति अपेक्षाभन्दा कमजोर रहेको बताएका थिए।
केन्द्रीय बैंकले आर्थिक वृद्धि समग्रमा कमजोर भएको स्वीकार गर्दै बाह्य परिस्थिती र सरकारको खर्च योजनालाई ध्यानमा राख्नुपर्ने आवश्यकता औँल्याएको छ। गत वर्ष रुसको अर्थतन्त्र केवल १ प्रतिशतले मात्र वृद्धि भएको थियो भने २०२६ मा पनि सुस्त विस्तार हुने अनुमान गरिएको छ।
यता, युद्धका कारण तेल निर्यातबाट हुने आम्दानी बढे पनि श्रम अभाव, मुद्रास्फीति, मुद्राको अस्थिरता र कमजोर लगानी वातावरणले दीर्घकालीन वृद्धिमा दबाब सिर्जना गरिरहेको विश्लेषण छ। अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का अनुसार मध्यपूर्वको तनावले तेल मूल्य उच्च बनाए पनि यसले रूसलाई आंशिक वित्तीय राहत दिएको छ।
केन्द्रीय बैंकले राज्य खर्च योजनाअनुसार अघि नबढे ब्याजदर लामो समय उच्च स्तरमै रहन सक्ने चेतावनीसमेत दिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया