टोकियो। अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि मध्यपूर्वमा जारी तनावका कारण ऊर्जा आपूर्ति प्रभावित हुँदै जाँदा एसियामा विशेषगरी तेल-आधारित बजारमा नयाँ असर देखिन थालेको छ। करिब दुई महिनादेखि जारी संकटका कारण कच्चा तेल आपूर्तिमा अवरोध हुँदा ऊर्जा–आधारित अर्थतन्त्रमा दबाब बढेको छ।
यसैबीच भारतमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढेको छ। विश्वको तेस्रो ठूलो अटो बजार बनेको भारतमा मार्च महिनामा मात्र ईभी बिक्री ८२ प्रतिशतले वृद्धि भई २४ हजार १४८ युनिट पुगेको छ।
अप्रिलसम्मको वित्तीय वर्षमा भारतमा कुल २ लाख ३३ हजार २४६ ईभी बिक्री भएको छ, जसले दक्षिण–पूर्वी एसियाका प्रमुख बजारहरूलाई समेत उछिनेको देखिन्छ। स्थानीय कम्पनी टाटा मोटर्स र महिन्द्रा समूहले यस वृद्धि नेतृत्व गरिरहेका छन्।
सस्तो र गुणस्तरीय सवारीका लागि परिचित सुजुकी मोटरले समग्र बजारमा अग्रता कायम राखे पनि ईभीतर्फको तीव्र परिवर्तनले भारतको अटो उद्योगमा दीर्घकालीन संरचनात्मक परिवर्तन ल्याउने संकेत देखिएको छ।
यसैबीच चीनका अटो उत्पादक कम्पनीहरू पनि ईभीसँगै हाइब्रिड प्रविधितर्फ आक्रामक रूपमा विस्तार भइरहेका छन्। गिली अटोमोबाइल जस्ता कम्पनीहरूले नयाँ हाइब्रिड प्रविधि सार्वजनिक गरिरहेका छन् भने बेइजिङ अटो शोमा विदेशी डिलरहरूले चिनियाँ ईभीहरू आफ्नो बजारमा ल्याउने सम्भावना मूल्याङ्कन गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार लामो समयदेखि जापान, युरोप र अमेरिकाका ठूला कम्पनीहरूको प्रभुत्व रहेको विश्व अटो बजार अहिले एसियाली उपभोक्ता मागका कारण परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ। चीन र भारत जस्ता ठूला बजारमा स्थानीय उत्पादकहरूको प्रभाव बढ्दै जाँदा वैश्विक प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया