काठमाडौँ। विगत दुई वर्षदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बारम्बारका हत्या प्रयासहरू भइरहेका छन् । सन् २०२४ को चुनावी अभियानदेखि लिएर हालैको समयसम्म उनीमाथि भएका विभिन्न आक्रमणका घटनाहरूले सुरक्षा चुनौतीलाई नयाँ मोडमा पुर्याएको पाइन्छ।
पेन्सिलभेनिया र्यालीमा भएको पहिलो साङ्घातिक हमला
ट्रम्पमाथि भएको सबैभन्दा भयानक र प्रत्यक्ष आक्रमण सन् २०२४ को जुलाई १३ मा पेन्सिलभेनियाको बटलरमा भएको थियो। चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यू क्रुक्सले नजिकैको भवनको छतबाट अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सो क्रममा एउटा गोलीले ट्रम्पको दाहिने कानको माथिल्लो भागमा चोट पुर्याएको थियो। यस घटनामा एक जना र्याली सहभागीले ज्यान गुमाउनुपरेको थियो भने दुई जना गम्भीर घाइते भएका थिए। सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी घटनास्थलमै मारिएका थिए।
फ्लोरिडा गल्फ कोर्सको दोस्रो प्रयास
यसको केही महिनापछि सेप्टेम्बर १५, २०२४ मा फ्लोरिडाको वेस्ट पाम बिचमा ट्रम्प गल्फ खेलिरहेका बेला अर्को हत्या प्रयास भएको थियो। झाडीमा लुकेर बसेका रायन वेस्ली राउथमार्फत एके–४७ जस्तो राइफल तेर्स्याएको देखेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले तत्काल गोली चलाएका थिए।
ट्रम्पलाई कुनै चोट नलाग्दै संदिग्ध व्यक्ति घटनास्थलबाट भाग्न सफल भए पनि पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा भएको पछिल्लो घटना
पछिल्लो समय अप्रिल २५, २०२६ मा वासिङ्टन हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा ट्रम्पमाथि अर्को आक्रमणको प्रयास भएको छ। ३१ वर्षीय कोल टोमास एलेन नामका व्यक्तिले सुरक्षा जाँच क्षेत्र नजिकै गोली चलाएपछि स्थिति तनावपूर्ण बनेको थियो।
सेक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया र उपराष्ट्रपति जेडी भेन्सलाई तुरुन्तै सुरक्षित स्थानमा सारेका थिए। सुरक्षित स्थानतर्फ लैजाने क्रममा भएको भागदौडमा ट्रम्प सामान्य लडे पनि उनलाई कुनै गम्भीर चोट लागेन।
ट्रम्पको सुरक्षामा दैनिक लगानी र खर्च
राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि अमेरिकी सरकारले निकै ठूलो रकम खर्च गर्दै आएको छ। विशेष गरी उनी राष्ट्रपति निर्वाचित भएपछि र पटक-पटक आक्रमणका प्रयासहरू भएपछि यो खर्चमा उल्लेख्य वृद्धि गरिएको छ।
विभिन्न प्रतिवेदनहरूका अनुसार राष्ट्रपतिको सुरक्षा र ट्रम्प टावर जस्ता निजी निवासहरूको सुरक्षाका लागि मात्रै दैनिक औसतमा ५ लाख डलर (करिब ६ करोड ६५ लाख नेपाली रुपैयाँ) भन्दा बढी खर्च हुने गरेको अनुमान छ।
यस खर्चमा सेक्रेट सर्भिसका एजेन्टहरूको पारिश्रमिक, अत्याधुनिक सुरक्षा उपकरण, यातायात (विशेष गरी एयर फोर्स वान र बुलेटप्रुफ सवारी साधन), र स्थानीय प्रहरीको सहयोग समावेश हुन्छ। सन् २०२६ को बजेट प्रस्तावमा राष्ट्रपतिको सुरक्षा र सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ, जसले गर्दा यो खर्च अझै बढ्न सक्ने देखिएको छ।
सुरक्षा संवेदनशीलता र भावी चुनौती
यी निरन्तरका घटनाहरूका बाबजुद ट्रम्पले आफ्नो सार्वजनिक कार्यक्रमहरूलाई निरन्तरता दिइरहेका छन्। अमेरिकी सुरक्षा निकायहरूले राष्ट्रपतिको सुरक्षा घेरालाई थप मजबुत बनाएका छन् र यस्ता घटनाहरू दोहोरिन नदिन प्रविधिको उच्च प्रयोग गरिरहेका छन्। यी घटनाहरूले अमेरिकी लोकतन्त्रमा राजनीतिक हिंसाको बढ्दो जोखिमलाई समेत उजागर गरेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया