काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थालाई एकैसाथ गहिरो असर पारिरहेको छ। ऊर्जा बजारदेखि शक्ति राष्ट्रहरूको सम्बन्धसम्म यसको प्रभाव तीव्र रूपमा देखिएको छ।
ऊर्जा क्षेत्रमा सबैभन्दा स्पष्ट प्रभाव परेको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुग्दै १२६.४१ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि ११० डलर नाघेको छ। इरानमाथि अमेरिकी नाकाबन्दी कडा बनाइएपछि आपूर्ति असन्तुलनको चिन्ताले मूल्य बढाएको हो।
सैन्य पक्षमा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी उल्लङ्घन गर्न खोजेका व्यावसायिक जहाजहरूलाई फर्काएको जनाएको छ। यसका कारण ठूलो परिमाणको तेल बजारमा प्रवेश गर्न नपाएको दाबी गरिएको छ, जसले मूल्य वृद्धिलाई थप टेवा दिएको छ।
कूटनीतिक रूपमा पनि तनाव चर्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीले इरानविरुद्धको युद्धमा साथ नदिएको भन्दै त्यहाँ तैनाथ अमेरिकी सैनिक घटाउने संकेत दिएका छन्। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले भने कूटनीतिक समाधानमा जोड दिँदै सैन्य संलग्नता अस्वीकार गरेका छन्।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध विस्तारप्रति गम्भीर चेतावनी दिएका छन्। ट्रम्पसँगको टेलिफोन वार्तामा उनले इरानमाथि थप सैन्य आक्रमण नगर्न आग्रह गर्दै द्वन्द्व बढे गम्भीर परिणाम आउने बताएका छन्।
युद्धको आर्थिक लागत पनि बढ्दै गएको छ। अमेरिकी रक्षामन्त्री पीट हेग्सेथका अनुसार करिब दुई महिनाको द्वन्द्वमा २५ अर्ब डलरभन्दा कम खर्च भएको अनुमान गरिएको छ। उच्च मात्रामा हतियार प्रयोगबारे उठेका चिन्ताहरूलाई भने अमेरिकी पक्षले अस्वीकार गरेको छ।
रणनीतिक रूपमा अमेरिका इरानमाथि दीर्घकालीन दबाब कायम राख्ने तयारीमा देखिएको छ। रिपोर्टअनुसार बन्दरगाह नाकाबन्दी कडा पार्दै इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिने योजना अघि बढाइएको छ।
युद्धको असर अन्य क्षेत्रमा पनि देखिएको छ। क्यानाडामा आयोजित फिफा काङ्ग्रेसमा सहभागी हुन गएका इरानी प्रतिनिधिहरूले टोरन्टो विमानस्थलमा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम नै छाडेका छन्।
उता ऊर्जा कम्पनीहरूले भने बढ्दो मूल्यबाट फाइदा उठाएका छन्। फ्रान्सेली कम्पनी टोटल एनर्जीले नाफा उल्लेख्य रूपमा बढेको जनाएको छ।
क्षेत्रीय सुरक्षा अवस्था अझै संवेदनशील छ। लेबनानमा जारी आक्रमणमा पछिल्ला दुई दिनमै २० भन्दा बढीको मृत्यु भएको छ। त्यहाँका राष्ट्रपति जोसेफ आउनले स्थायी वार्ताअघि पूर्ण युद्धविराम कार्यान्वयन गर्न आग्रह गरेका छन् भने इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध सैन्य कारबाही जारी राखेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया