काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ।
नेप्सेले जारी गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्थागत लगानीकर्ताले तोकिएको शुल्क बुझाएर दर्ता हुनुपर्नेछ। साथै, यसअघि दर्ता भइसकेका लगानीकर्ताले पनि वार्षिक नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
संस्थागत लगानीकर्ताका लागि दर्ता शुल्क १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
शुल्क ग्लोबल आइएमई बैंक लिमिटेडमा रहेको नेप्सेको खातामा जम्मा गर्नुपर्नेछ। रकम जम्मा गरेको बैंक भौचर इमेलमार्फत पठाउनुपर्ने नेप्सेले जनाएको छ।
बुक बिल्डिङ विधिमा संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता सुनिश्चित गर्न यो व्यवस्था गरिएको नेप्सेले स्पष्ट पारेको छ।
बुक बिल्डिङ आईपीओ प्रक्रिया: कसरी निर्धारण हुन्छ मूल्य र कसरी हुन्छ बाँडफाँट?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्ने प्रणाली नेपालका लागि अपेक्षाकृत नयाँ भए पनि अन्तर्राष्ट्रिय रूपमा भने यो सबैभन्दा प्रचलित आईपीओ विधि हो। यस प्रणालीले बजारमै आधारित भएर शेयरको वास्तविक मूल्य निर्धारण गर्न मद्दत गर्छ।
यस विधिअनुसार कम्पनीले निष्काशन गर्ने कुल शेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत सर्वसाधारणलाई बिक्री गरिन्छ। संस्थागत लगानीकर्ताले विभिन्न मूल्यमा आवेदन दिएपछि उच्च मूल्यबाट तलतिर बाँडफाँट गर्दै जाँदा जुन मूल्यमा सबै शेयर बिक्री हुन्छ, त्यही मूल्यलाई ‘कटअफ’ मूल्य मानिन्छ।
कटअफ मूल्यभन्दा माथि आवेदन दिने संस्थागत लगानीकर्ताले सोही कटअफ मूल्यमा शेयर पाउँछन्। त्यसपछि सर्वसाधारणका लागि १० प्रतिशत छुटसहित सोही मूल्यमा आईपीओ निष्काशन गरिन्छ।
बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन कम्पनीले केही मापदण्ड पूरा गर्नुपर्छ:
कम्तीमा पछिल्ला तीन वर्ष लगातार नाफामा सञ्चालन भएको हुनुपर्ने
साधारण सभाबाट बुक बिल्डिङमार्फत शेयर जारी गर्ने निर्णय भएको हुनुपर्ने
प्रति शेयर नेटवर्थ चुक्ता पूँजीको कम्तीमा १५० प्रतिशत हुनुपर्ने
कम्तीमा BBB- वा सोभन्दा माथिको क्रेडिट रेटिङ प्राप्त गरेको हुनुपर्ने
प्रक्रिया कसरी अघि बढ्छ?
कम्पनीले सबैभन्दा पहिले बिक्री प्रबन्धक नियुक्त गर्छ र नेपाल स्टक एक्सचेन्जसँग स्वचालित विद्युतीय प्रणालीमार्फत सम्झौता गर्छ। त्यसपछि प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग ‘रोड शो’ मार्फत छलफल गरिन्छ।
संस्थागत लगानीकर्ताले न्यूनतम शेयर संख्या र मूल्य प्रस्तावसहित आफ्नो आशयपत्र पेश गर्छन्। कम्तीमा १० संस्थागत लगानीकर्ताबाट प्राप्त प्रस्तावका आधारमा मूल्य दायरा तय गरिन्छ।
बोलकबोल र मूल्य निर्धारण
निर्धारित मूल्य सीमाभित्र संस्थागत लगानीकर्ताले बोलकबोल गर्छन्। उच्च मूल्यबाट तलतिर बाँडफाँट गर्दै जाँदा जुन मूल्यमा सबै शेयर बिक्री हुन्छ, त्यही ‘कटअफ’ मूल्य हुन्छ।
त्यसपछि सोही मूल्यमा संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट गरिन्छ र बाँकी शेयर सर्वसाधारणलाई १० प्रतिशत छुटमा उपलब्ध गराइन्छ।
सर्वसाधारणका लागि व्यवस्था
सर्वसाधारणले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। बाँडफाँट पनि न्यूनतम ५० कित्ता हुने गरी गरिन्छ।
किन महत्वपूर्ण छ यो विधि?
बुक बिल्डिङ विधिले बजारको मागअनुसार शेयरको मूल्य निर्धारण गर्ने भएकाले पारदर्शिता र यथार्थ मूल्याङ्कन बढाउने अपेक्षा गरिएको छ। यसले संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता सुनिश्चित गर्दै पूँजी बजारलाई परिपक्व बनाउने लक्ष्य राखेको छ।
नेपालमा यो विधि विस्तार हुँदै जाँदा आगामी दिनमा ठूला कम्पनीहरू यसैमार्फत आईपीओ ल्याउने सम्भावना बढ्दै गएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया