काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) अन्तर्गतको नेशनल पेमेन्ट स्वीच–नेशनल कार्ड स्वीच (NPS–NCS) प्रणाली तथा नेपालपे (NEPALPAY) कार्डमा औपचारिक रूपमा आबद्ध भएको छ।
यस सम्बन्धी सम्झौता बैंक र NCHL बीच सम्पन्न भएको हो। सम्झौतासँगै अब बैंकले नेपालपे कार्ड जारी गर्न सक्नेछ भने NPS–NCS प्रणालीमार्फत कार्ड कारोबार सञ्चालन गर्नेछ।
यस आबद्धतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले स्वदेश तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमार्फत सहज रूपमा डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन्। डिजिटल भुक्तानी प्रणाली विस्तार र पहुँच अभिवृद्धिमा यसलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
हालसम्म NPS–NCS प्रणालीमा ३० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। तीमध्ये केही संस्थाले प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेका छन्।
नेपालपे कार्डलाई अन्तर्राष्ट्रिय नेटवर्कसँगको सहकार्यमा विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने बनाउने तयारीसमेत भइरहेको छ।
NPS–NCS प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै घरेलु कार्ड कारोबारको राउटिङ तथा सेटलमेन्टका लागि केन्द्रीय प्लेटफर्मका रूपमा काम गर्छ। यसले डिजिटल भुक्तानी लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने र समग्र डिजिटल वित्तीय प्रणालीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय वाणिज्य बैंकले देशभर ३०० भन्दा बढी शाखा, एटीएम, पीओएस टर्मिनल तथा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिँदै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया