काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योगी–व्यवसायीलाई सरकारसँग डराउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् भने उद्योग–व्यवसायको नाममा आपराधिक गतिविधिमा संलग्न हुनेलाई कडाइका साथ कारबाही गरिने चेतावनी दिएका छन्।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। वाग्लेले इमान्दार व्यवसायीलाई संरक्षण गर्ने र गलत काम गर्नेहरूलाई कानुनी दायरामा ल्याउने सरकारको स्पष्ट नीति रहेको बताए।
“गल्ती नभएका उद्योगी व्यवसायी डराउनु पर्दैन। उद्योग व्यवसायको नाममा अपराधी नै बनेर हिँडेका व्यक्तिहरु चाहिँ डराए हुन्छ,” वाग्लेले भने, “उद्योग, व्यवसायको आवरणमा अपराध गरेर हिँड्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन।”
उनले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदारका रूपमा लिएर आगामी बजेटमा ‘बुस्टअप’ गर्ने कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए। निजी लगानी प्रवर्द्धन गर्ने, लगानीमैत्री वातावरण बनाउने र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने ठोस कार्यक्रम बजेटमा समावेश गरिने उनको भनाइ थियो।
“निजी लगानी प्रवर्द्धन र आकर्षित गर्ने कार्यक्रम बजेटमा आउँछ,” उनले भने, “बजेटले स्वास्थ्य र शिक्षामा मध्यमवर्गको बोझ घटाउने र मध्यमवर्गको दायरा विस्तार गर्ने खालका कार्यक्रम पनि ल्याउँछ।”
अर्थमन्त्री वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा पुर्याउने लक्ष्य राखिएको बताए। त्यस्तै, नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलरसम्म विस्तार गर्ने दीर्घकालीन उद्देश्य पनि बजेटमार्फत अघि बढाइने उनले उल्लेख गरे।
उनका अनुसार अबको बजेटले अर्थतन्त्रलाई नयाँ दिशातर्फ मोड्ने ‘टर्निङ पोइन्ट’ को काम गर्नेछ। “अबको बजेट आर्थिक राजकाजको जहाज मोड्ने खालको हुन्छ,” वाग्लेले भने, “हामी परम्परागत शैलीबाट बाहिर निस्केर परिणाममुखी आर्थिक व्यवस्थापनतर्फ जान चाहन्छौं।”
वाग्लेले विगतमा अपेक्षित नतिजा दिन नसकेका तथा निस्प्रभावी बनेका आयोजनाहरू खारेज गर्ने स्पष्ट संकेत पनि दिए। साथै करको दर र कर प्रणालीमा सुधार गरी व्यवसायमैत्री र पारदर्शी कर संरचना निर्माण गरिने उनले बताए।
“पैसा खन्याएर मात्र विकास हुँदैन, नीति सुधार गरेर अघि बढ्नुपर्छ,” उनले भने, “हामी सार्वजनिक प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने दिशामा प्रतिबद्ध भएर काम गरिरहेका छौं।”
समग्रमा, अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत निजी क्षेत्रको विश्वास जित्ने, आर्थिक संरचनामा सुधार ल्याउने र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको स्पष्ट पारे
आर्थिकन्यूज
प्रतिक्रिया