शीर्षकहरू

नदी किनारका बाँकी सुकुमवासी बस्तीमा आजदेखि डोजर चल्दै, प्रहरीसहित प्रशासनको ठूलो उपस्थिति

नदी किनारका बाँकी सुकुमवासी बस्तीमा आजदेखि डोजर चल्दै, प्रहरीसहित प्रशासनको ठूलो उपस्थिति

काठमाडौं  । काठमाडौं उपत्यकाका नदी किनार आसपासका बाँकी सुकुमवासी बस्ती खाली गराउन सरकारले आज बिहानदेखि डोजर अभियान सुरु गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा काठमाडौं महानगरपालिकाले वडा नं। ११ वंशीघाट, १४ बल्खु, १५ स्वयम्भू, १६ बालाजु तथा वडा नं ३ र २६ अन्तर्गत सामाखुशी, खाडीपाखा, रानीबारीलगायत क्षेत्रमा एकैपटक बस्ती हटाउने तयारी गरेको हो।

अभियानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालित भइसकेका छन्। प्रशासनले पूर्वसूचना अटेर गरी नहटेमा हुने क्षतिको जिम्मेवारी स्वयं बसोबासकर्ताले लिनुपर्ने चेतावनी दिएको छ।

प्रशासनका अनुसार नदी किनार, सरकारी, सार्वजनिक, पर्ति तथा अतिक्रमित निजी जग्गामा वर्षौंदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका बस्तीलाई विपद् जोखिम र मानवीय उद्धारको दृष्टिले खाली गराउन लागिएको हो। अनामनगरको धोबीखोला किनारका बासिन्दा भने माइकिङ सुरु भएसँगै बिहीबारदेखि नै सामान पोको पारेर बस्ती छाड्न थालेका छन्।

यसअघि सरकारले वैशाख १२ गते थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरालगायत क्षेत्रमा डोजर चलाइसकेको थियो भने बाँकी क्षेत्र आजबाट खाली गराउन लागेको हो। प्रशासनले प्रभावित बासिन्दालाई घरटहरा तत्काल खाली गर्न, बिरामी, वृद्ध, गर्भवती, बालबालिकालाई सुरक्षित स्थानमा सार्न, व्यक्तिगत सामान तथा पशुचौपाया हटाउन र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन आग्रह गरेको छ।

साथै, वास्तविक भूमिहीनलाई अस्थायी बसोबास र दीगो समाधानको व्यवस्था गरिने, बालबालिकाको शिक्षाको प्रबन्ध मिलाइने तथा गलत हल्लाको पछि नलाग्नसमेत प्रशासनले अनुरोध गरेको छ।
 

प्रतिक्रिया