काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि गठन गरिएको बजेट लेखन टिमलाई पूर्णता दिएको छ। रिक्त रहेका स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यका रूपमा समेटिएसँगै टिम पूर्ण भएको मन्त्रालयले जनाएको छ।
संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार अर्थ मन्त्रालयले गत चैत २० गते बजेट लेखन समिति गठन गरेको थियो।
तर, समितिका दुई सदस्य सहसचिव महेश भट्टराई र सेवन्तक पोखरेललाई वैशाख १० गते मन्त्रिपरिषद्ले सरुवा गरेपछि समिति केही समय रिक्त बनेको थियो। उनीहरूको सरुवापछि भट्टराईलाई बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा र पोखरेललाई मधेश प्रदेशमा पठाइएको छ।
स्रोतका अनुसार सरुवा निर्णय पछाडि इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्टसँग सम्बन्धित अनुसन्धानको विषय जोडिएको बताइए पनि सरकारले औपचारिक कारण सार्वजनिक गरेको छैन।
हाल बजेट लेखन समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्री रहेका छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा तथा सहसचिव अमृत लम्साल रहेका छन्।
सरकारले बजेट निर्माणको अन्तिम तयारी तीव्र रूपमा अघि बढाइरहेका बेला लेखन टिम पूर्ण भएपछि आगामी बजेटलाई अन्तिम रूप दिने कामले गति लिने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया