काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज मा नाकाबन्दी जारी रहने संकेत दिएका छन् ।
अमेरिकाले हर्मुजमार्फत हुने अन्तर्राष्ट्रिय जहाज आवागमन स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने भन्दै आवश्यक परे सैन्य कदम चाल्नेसमेत चेतावनी दिएको छ । ट्रम्प प्रशासन निकट एक अधिकारीका अनुसार इरानमाथि दबाब बढाउन कूटनीतिक तथा नीतिगत उपायहरू अघि सारिएको छ ।
“इरानलाई यो महत्वपूर्ण जलमार्गमा आफ्नो प्रभाव घटाउन बाध्य पार्ने उद्देश्यले नाकाबन्दी कायम राखिनेछ,” ती अधिकारीले बताएका छन् ।
अमेरिकी दबाबका बीच इरानले भने कडा अडान लिँदै हर्मुजमार्फत सीमित जहाजलाई मात्र आवागमन अनुमति दिएको छ । यसले मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ ।
यसैबीच, इरानका सर्वोच्च नेता मोजतबा खामेनी ले अमेरिकाले क्षेत्रीय द्वन्द्वमा ‘लज्जास्पद हार’ बेहोरेको दाबी गरेका छन् । ‘पर्सियन खाडी’ दिवसका अवसरमा जारी सन्देशमा उनले अमेरिकी नीतिको आलोचना गर्दै इरानले आफ्नो रणनीतिक अवस्था बलियो बनाएको बताएका छन् ।
“यस क्षेत्रमा अमेरिकाको सैन्य उपस्थितिका बाबजुद नयाँ अवस्था सिर्जना भएको छ,” उनले उल्लेख गरेका छन् ।
इरानले हर्मुज जलमार्गमा नयाँ कानुनी ढाँचा लागू गर्दै आफ्नो नियन्त्रण सुदृढ बनाउने संकेत दिएको छ। इरानी अधिकारीहरूका अनुसार जलमार्ग प्रयोगमा लगाइएको शुल्कबाट राजस्वसमेत बढ्न थालेको छ ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियान ले अमेरिकी नौसैनिक नाकाबन्दी असफल हुने दाबी गरेका छन्। “यस्ता कदमले क्षेत्रीय स्थायित्वमा योगदान गर्दैन, बरु तनाव बढाउँछ,” उनले बताएका छन् ।
त्यसैगरी, इरानी नौसेना कमान्डर शाहराम इरानीले निकट भविष्यमा नयाँ विकसित नौसैनिक हतियार तैनाथ गर्ने संकेत दिएका छन् ।
विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज मा बढ्दो तनावले विश्व बजारमा अनिश्चितता थपिएको विश्लेषण गरिएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया