काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित अमेरिकी सैन्य तथा कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बेइजिङ भ्रमणलाई प्राथमिकतामा राख्दै ह्वाइट हाउसले इरानसम्बन्धी निर्णयहरूमा सन्तुलन खोजिरहेको छ। मे १४ र १५ का लागि तय गरिएको भ्रमणलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
एनबीसीको रिपोर्टअनुसार ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी विकल्प मूल्याङ्कन गर्दा चीन भ्रमणलाई मुख्य कारकका रूपमा लिएको बताएका छन्। पहिले स्थगित भइसकेको भ्रमण फेरि सार्ने पक्षमा प्रशासन नरहेको जनाइएको छ।
यसैबीच, द न्युयोर्क टाइम्सका अनुसार स्ट्रेट अफ हर्मुज र इरानी बन्दरगाह क्षेत्रमा लागू गरिएको समुद्री प्रतिबन्धले कूटनीतिक वातावरण अझ जटिल बनाएको छ। यी अवरोधका कारण भ्रमणलाई उच्च जोखिमयुक्त मानिएको छ।
ऊर्जा सुरक्षासँग जोडिएको हर्मुज जलमार्गको संवेदनशीलताले पनि परिस्थिति थप जटिल बनेको छ। चीनसहित धेरै देशहरू यस मार्गमा निर्भर रहँदा आपूर्ति शृङ्खलामा असर परेको बताइएको छ।
अमेरिकाले इरानी तेलसँग व्यापार गरेको आरोपमा चिनियाँ कम्पनी तथा तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाउँदै आएको छ, जसले वासिङ्टन–बेइजिङ सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।
यसैबीच राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता जारी रहेको बताएका छन्। तर वार्ताको विवरण सीमित व्यक्तिहरूलाई मात्र थाहा रहेको उनको भनाइ छ। उनले इरानको नेतृत्व संरचनाले पनि वार्तामा चुनौती थपेको उल्लेख गरे।
ट्रम्पले इरान सम्झौताको खोजी भइरहेको दाबी गर्दै अमेरिकी आर्थिक दबाबले इरानको अर्थतन्त्रमा गम्भीर असर परेको बताए।
सैन्य विकल्पबारे भने उनले सतर्कता अपनाइरहेको संकेत गर्दै परिस्थिति अनुसार निर्णय हुने बताएका छन् । पेन्टागनबाट अद्यावधिक सैन्य विकल्पहरू प्राप्त हुने अपेक्षा गरिएको पनि उल्लेख छ।
यस विषयले अमेरिकी आन्तरिक राजनीतिमा पनि बहस चर्काएको छ। कंग्रेसले राष्ट्रपतिको सैन्य अधिकार सीमित गर्न प्रयास गरिरहँदा ट्रम्पले त्यसको आलोचना गरेका छन् । कानुनी व्याख्याबारे पनि सत्ता र विपक्षबीच मतभेद देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया