काठमाडौं । नेपाली पात्रो एपले नयाँ वर्षको अवसरमा नयाँ सोच र नयाँ स्वरूपसहित अगाडि बढ्ने घोषणा गरेको छ। हालसम्म १ करोड ३० लाखभन्दा बढी डाउनलोड हासिल गरिसकेको यस एपले विश्वभर रहेका नेपालीहरूलाई तिथि-मिति, चाडपर्व र सांस्कृतिक जानकारीसँग जोड्दै आएको छ।
एपले अब केवल मिति हेर्ने साधनको सीमामा नअड्किएर नेपाली परम्परा, मूल्यमान्यता र साझा पहिचानलाई पुस्तौँपुस्ता तथा देशदेशान्तरसम्म जोड्ने सांस्कृतिक माध्यमका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
“पात्रो केवल मिति हेर्ने साधन मात्र नभई, हाम्रो परम्परा र पहिचानलाई जोड्ने जीवन्त सांस्कृतिक धरोहर हो,” संस्थापक विरिजन महर्जनले बताए । “नयाँ पहिचानसहित अब हामी बहुउपयोगी जानकारी, सिर्जनशील अभिव्यक्ति, कला प्रवर्द्धन र प्रविधिमार्फत विश्वभरका नेपालीहरूलाई सुसूचित राख्ने प्रयासलाई निरन्तर अघि बढाउनेछौँ।”
यससँगै नेपाली पात्रोले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। लोगोमा नेपाली अक्षर “ने” को अमूर्त रूप प्रस्तुत गरिएको छ, जसले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा झल्काउँछ। साथै, यसले समयको निरन्तर प्रवाह र परिवर्तनको भावलाई पनि अभिव्यक्त गरेको छ।
नयाँ लोगो र अवधारणासँगै नेपाली पात्रोले संस्कृति, समुदाय, सिर्जना र प्रविधिलाई एकसाथ जोड्दै प्रयोगकर्तालाई अझ अर्थपूर्ण र प्रेरणादायी अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया