शीर्षकहरू

इआरटीको सिफारिसपछि इराक बाहेकका देशमा श्रम स्वीकृति पुनः खुला

इआरटीको सिफारिसपछि इराक बाहेकका देशमा श्रम स्वीकृति पुनः खुला

काठमाडौं । सरकारले पश्चिम एसियाका अधिकांश देशका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः खुला गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इराकबाहेक अन्य देशमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणमार्फत दिइने सबै प्रकारका श्रम स्वीकृति पूर्ववत् रूपमा जारी गरिनेछ।

पश्चिम एसियामा विकसित अस्थिर परिस्थितिलाई ध्यानमा राख्दै सरकारले २०८२ फागुन १७ गते साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायललगायतका देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो।

परिस्थिति क्रमशः सहज बन्दै गएको निष्कर्षसहित परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी) ले खाडी क्षेत्रमा श्रम स्वीकृति पुनः खुला गर्न सिफारिस गरेको हो। सोही सिफारिसका आधारमा मन्त्रालयले इराकबाहेक अन्य गन्तव्यका लागि श्रम स्वीकृति खुला गरेको जनाएको छ।

अमेरिका–इरान तनावपछि नयाँ श्रम स्वीकृति तथा नवीकरणमा रोक लगाइएको थियो। यद्यपि, बिदामा नेपाल आएका श्रमिकलाई फर्कनका लागि श्रम नवीकरण भने खुला गरिएको थियो। नयाँ श्रम स्वीकृति बन्द हुँदा वैदेशिक रोजगारमा जान चाहनेहरू प्रभावित भएका थिए भने नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणसमेत स्थगित गरेका थिए।

मन्त्रालयका अनुसार अब श्रम स्वीकृति खुला गर्ने प्रक्रिया अघि बढिसकेको छ र सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको छ।

प्रतिक्रिया