काठमाडौं। यूएईविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जित्दै कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन्।
नेपालले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेलिरहेको हो। खेलसँगै कीर्तिपुर मैदानमा फ्लडलाइटमा पहिलो पटक राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने ऐतिहासिक अवसर पनि बनेको छ।
नेपालको प्लेइङ–११ मा दीपेन्द्र सिंह ऐरी (कप्तान), अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी रहेका छन्।
यस खेलमार्फत सुदूरपश्चिम रोयल्सका मध्यम गतिका बलर हेमन्त धामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। उनलाई राष्ट्रिय टोलीका सहायक प्रशिक्षक कलाम अलीले डेब्यु क्याप प्रदान गरेका हुन्। हेमन्तले यसअघि सन् २०२४ मा क्यानडाविरुद्ध घरेलु मैदानमै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।
नेपालले यूएईसँग सोमबार र मंगलबार दुई खेलको टी-२० आई सिरिज खेल्नेछ। फ्लडलाइटमा पहिलो पटक राष्ट्रिय टोलीले खेल्दै गर्दा कीर्तिपुरको यो मैदान नेपाली क्रिकेट इतिहासमा नयाँ अध्यायका रूपमा दर्ज भएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया