शीर्षकहरू

जलविद्युत् आयोजनालाई राहत : आरसीओडी थपका लागि ७ दिनभित्र सम्पर्क गर्न आह्वान

जलविद्युत् आयोजनालाई राहत : आरसीओडी थपका लागि ७ दिनभित्र सम्पर्क गर्न आह्वान

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु मिति (आरसीओडी) थपका लागि प्रवर्द्धक कम्पनीहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आह्वान गरेको छ।

प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालयको विद्युत् व्यापार विभागले बुधबार सार्वजनिक सूचनामार्फत यस्तो जानकारी दिएको हो।

प्राधिकरणका अनुसार निजी क्षेत्रका प्रवर्द्धकसँग भएको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) र ग्रीड कनेक्सन सम्झौताअनुसार निर्माण हुनुपर्ने प्रसारण लाइन तथा सबस्टेसन समयमै सम्पन्न नहुँदा धेरै आयोजना प्रभावित भएका छन्। यस अवस्थालाई ध्यानमा राख्दै सञ्चालक समितिको २०७१ भदौ ३१ गतेको ६८८औँ बैठकले निश्चित सर्तसहित आरसीओडी संशोधन गर्न दिने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार निर्धारित समयसम्म निर्माण सम्पन्न गर्न नसकेका आयोजनाहरूले आवश्यक सर्त पूरा गरेमा आरसीओडी थपको सुविधा लिन सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित विभागमा निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ।

आरसीओडी थपका लागि प्राधिकरणले स्पष्ट मापदण्डसमेत तोकेको छ। आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको, वित्तीय व्यवस्थापन सुनिश्चित गरेको र आरसीओडी सकिनुअघि नै संशोधनका लागि निवेदन दिएको हुनुपर्नेछ। साथै, आयोजनाले भौतिक निर्माण कार्य सुरु गरी प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रगतिसँग मिल्दोजुल्दो प्रगति हासिल गरेको हुनुपर्ने उल्लेख छ।

प्राधिकरणको यो कदमले ढिलाइमा परेका जलविद्युत् आयोजनालाई समय व्यवस्थापनमा सहजता दिने अपेक्षा गरिएको छ।

null

प्रतिक्रिया