शीर्षकहरू

स्थायी सरकार बनेपछि ह्वात्तै बढ्यो घरजग्गाको कारोबार, चैतमा ६ अर्ब १६ करोड राजस्व

स्थायी सरकार बनेपछि ह्वात्तै बढ्यो घरजग्गाको कारोबार, चैतमा ६ अर्ब १६ करोड राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा घरजग्गाकाे काराेबार उच्च वृद्धि भएकाे छ । गत आवकाे चैतकाे तुलनामा यस वर्षकाे चैतमा घरजग्गाकाे काराेबार र त्यसबाट संकलन हुने राजस्व भएकाे भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएकाे छ ।

विभागका अनुसार २०८१ चैतमा १ लाख ४७ हजार ४१६ पटक घरजग्गाको कारोबार भएको थियाे भने २०८२ चैतमा १ लाख ७६ हजार ७७१ पटक काराेबार भएकाे छ । अर्थात् फागुनमा १९.९१ प्रतिशतले काराेबार बढेकाे छ । फागुनमा ५५ हजार ५३१ पटक लिखत पारित भएकाे छ । 

काराेबार बढेसँगै यसबाट संकलन हुने राजस्वमा पनि बढाेत्तरी देखिएकाे छ । २०८२ चैतमा ६ अर्ब १६ कराेड रूपैयाँ राजस्व संकलन भएकाे छ । २०८१ काे चैतमा ४ अर्ब ३९ कराेड रूपैयाँ मात्रै राजस्व संकलन भएकाे थियाे । तुलनात्मक रूपमा राजस्व ४०.२९ प्रतिशतले बढेकाे छ । 

चालु आर्थिक वर्षका सुरूवाती केही महिनाहरूमा गत वर्षको तुलनामा घरजग्गाको कारोबार तथा कित्ताकाट लगातार घटिरहेको थियो । तर, मंसिर महिनादेखि कारोबारमा एक्कासि सुधार देखिएकाे थियाे । 

सरकारले कित्ताकाट खुलाएका कारण मंसिर, पाैष, माघ महिनामा घरजग्गाकाे काराेबारमा उछाल देखिएकाे थियाे । फागुनमा भने चुनावका कारण काराेबार कम भएकाे थियाे । 

सरकारले २०८२ को असार मसान्तदेखि कित्ताकाट रोक्का भएको थियो । जसले यस क्षेत्रको कारोबारसँगै सरकारको राजस्वमा नै धक्का लाग्यो । तर, रोकिएको कित्ताकाट २०८२ कार्तिक महिनाको अन्तिम सातामा सरकारले खुलाइदियो । अर्थात् आगामी असार मसान्तसम्मका लागि कित्ताकाट गर्न पाइने व्यवस्था सरकारले गरिदिएको थियाे । यसले गर्दा अझै ३ महिनासम्म कित्ताकाट गर्न पाइन्छ । यो अवधिमा घरजग्गाको कारोबार उच्च हुने आशा व्यवसायीहरूमा गरेका थिए ।

स्थायी सरकार बनेपछि बढ्याे कारोबार

घर जग्गा एजेन्ट र एजेन्सी संयुक्त कार्यदलको प्रवक्ता हमिद खानका अनुसार चैतमा स्थायी सरकार बनेपछि चैतमा घरजग्गाकाे काराेबार उच्च वृद्धि भएकाे हाे । स्थायी सरकार बनेपछि लगानीकर्तामा कन्फिडेन्ट बढ्याे, कन्फिडेन्स बढेपछि घरजग्गामा लगानी बढ्न थालेका कारण काराेबार वृद्धि भएकाे उनी बताउँछन् । 

प्रवक्ता खानले भने, 'मानिससँग पैसा त पहिला देखि नै थियाे, अस्थायी सरकार हुँदा लगानी गर्न डराएका थिए, स्थायी सरकार बनेपछि उनीहरूले धमाधम लगानी गर्न थाले ।' उनले आगामी दिनमा घरजग्गाको कारोबारले ऐतिहासिक रेकर्ड राख्दै जाने दाबी पनि गरे । यस्तै, बैंकको ब्याजदर पनि निरन्तर घटिरहेको छ । यसले पनि कारोबारमा सपोर्ट पुगेकाे छ ।  

उनका अनुसार घरजग्गाको कारोबार बढ्नु भनेको देशको अर्थतन्त्र पनि बढ्नु हो । त्यसकारण सरकारले घरजग्गा थप चलायमान हुने नीति लिनु पर्ने उनकाे धारणा छ । 'कारोबार जति बढ्यो राजस्व सोही अनुसार बढ्छ । त्यतिमात्रै हैन, घरजग्गा चलायमान हुँदा समग्र अर्थतन्त्र चलायमान हुन्छ, त्यसकारण सरकारले यसलाई व्यवस्थित गरेर थप चलायमान हुने नीति लिनु पर्दछ ।' उनले भने । 

प्रतिक्रिया