काठमाडौं। दिनभर दबाबमा रहेको सेयर बजार अन्तिम समयमा सुधारिए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से २.९५ अंक घट्दै २८०४.१७ विन्दुमा कायम भएको हो।
दिनभर बजार राताम्मे देखिए पनि अन्तिम कारोबार समयमा भएको रिकभरले गिरावट सीमित बनेको हो।
आज ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर १ लाख २१ हजार ४३३ पटक कारोबार हुँदा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको हो।
बजारमा १२१ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनी घटेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।
उपसमूहमध्ये बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहका सूचक बढेका छन् भने अन्य उपसमूह घटेका छन्। होटल तथा पर्यटन समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।
पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतको हाराहारीमा बढेर सर्किट लेभलमा पुगेको छ। झापा इनर्जीको सेयर मूल्य करिब १४ प्रतिशतले बढेको छ।
त्यसैगरी होटल फरेस्ट इनको सेयर मूल्य भने १०.७५ प्रतिशतले घट्दै दिनको सबैभन्दा ठूलो गिरावटमा रह्यो।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहँदा रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावर पनि उच्च कारोबार गर्ने कम्पनी बनेका छन्।
समग्रमा दिनभरको उतारचढावपछि अन्तिम समयमा भएको सुधारले बजारलाई ठूलो गिरावटबाट जोगाए पनि नेप्से सामान्य अंकले नकारात्मक क्षेत्रमै बन्द भएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया