काठमाडाैँ । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् । मन्त्री गुरुङले आज बुधबार प्रधानमन्त्री बालेन शाहलाई राजीनामा पत्र पेश गरेका हुन् । उनले सामाजिक सञ्चाल फेसबुकमा एक पोस्ट गर्दै राजीनामा दिएको बारेमा जानकारी दिएका छन् ।
पछिल्लो समय गृहमन्त्री गुरुङ विवादमा परेका थिए । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा उनको २५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर रहेको खुलेपछि उनी विवादमा तानिएका हुन् ।
उनले आफ्नो सम्पत्ति विवरणमा उक्त शेयर भएको विवरण नखुलाएको, सो कम्पनीमा लगानीको स्रोत नखुलाएको भन्दै उनको टिक्का टिप्पणी हुँदै आएको थियो । तर, कतिपयले भने गृहमन्त्रीलाई विवादमा ल्याएर फाइदा लिन खोजेको विश्लेषण गर्दै आएका छन् ।
राजीनामा दिएकाे जानकारी गराउँदै उनले फेसबुकमा लेखेका छन् :
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
आर्थिकन्यूज
प्रतिक्रिया