शीर्षकहरू

भोकमरी संकट गहिरिँदै: विश्वका १० देशमा केन्द्रित दुई तिहाइ खाद्य असुरक्षा

भोकमरी संकट गहिरिँदै: विश्वका १० देशमा केन्द्रित दुई तिहाइ खाद्य असुरक्षा

काठमाडौं। विश्वभर बढ्दो खाद्यान्न संकट मुख्यतः १० देशमा केन्द्रित भएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार गत वर्ष तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका कुल जनसंख्याको झण्डै दुई तिहाइ यिनै देशमा केन्द्रित रहेका छन्।

खाद्य संकटसम्बन्धी ग्लोबल रिपोर्टमा सुडान, नाइजेरिया र कङ्गोमा मात्रै करिब एक तिहाइ प्रभावित जनसंख्या रहेको उल्लेख गरिएको छ। प्रतिवेदन संयुक्त राष्ट्रसंघ, युरोपेली संघ तथा विभिन्न मानवीय संस्थाहरूको तथ्यांकमा आधारित रहेको छ।

रिपोर्टका अनुसार द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरता तीव्र खाद्य असुरक्षाका प्रमुख कारण हुन्। अफगानिस्तान, बङ्गलादेश, कङ्गो, म्यानमार, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमनमा खाद्य संकट अत्यन्त गम्भीर अवस्थामा पुगेको छ।

केही क्षेत्रमा अवस्था झनै जटिल बन्दै गएको छ। विशेषगरी गाजा र सुडानका केही भागमा एकै वर्षभित्रै उच्चस्तरीय खाद्य असुरक्षा देखिएको जनाइएको छ।

विश्वव्यापी रूपमा ४७ देशका करिब २६ करोड ६० लाख मानिसले गत वर्ष गम्भीर खाद्य अभावको सामना गरेका छन्। प्रतिवेदनले अन्तर्राष्ट्रिय सहयोग घट्दै गएको र मध्यपूर्वका द्वन्द्वका कारण विस्थापन बढ्दा संकट थप चर्किने जोखिम औंल्याएको छ।

त्यसैगरी, प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधले इन्धन मूल्य वृद्धि भई खाद्य आपूर्ति शृंखलामा थप दबाब सिर्जना गर्ने संकेत देखिएको छ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) का प्रमुख अल्भारो लारियोका अनुसार खेतीको समयमा मल अभाव र मूल्यवृद्धिले संकट अझ गहिरिने खतरा छ। उनले साना किसानलाई सहयोग बढाउन, जलवायु अनुकूल खेतीमा लगानी गर्न र स्थानीय स्तरमै मल उत्पादन प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

प्रतिवेदनले दीर्घकालीन समाधानका लागि दिगो कृषि प्रणाली र स्थानीय उत्पादन क्षमतामा लगानी अपरिहार्य भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया