काठमाडौं। नेपाल टेलिकमले ‘समर अफर २०८३’ सार्वजनिक गर्दै विभिन्न आकर्षक डाटा तथा भ्वाइस प्याकेजहरू उपलब्ध गराएको छ। कम्पनीले बिहीबारदेखि लागू हुने गरी नयाँ अफर अन्तर्गत विभिन्न सेवाहरूलाई समेटेर ग्राहकलाई थप सुविधा दिने जनाएको छ।
अफरअनुसार मोबाइल प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र ३० दिन अवधिका विभिन्न प्याकेज उपलब्ध गराइएको छ। विशेषगरी अल–नेट भ्वाइस प्याक, डाटा प्याक र एसएमएस प्याकेजलाई आकर्षक मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
३० दिन अवधिका प्याकेजलाई थप ग्राहकमैत्री बनाउँदै असीमित कल सुविधा भएका अल–नेट भ्वाइस प्याकेज पनि समावेश गरिएको छ। यस्तै, विभिन्न मूल्यका डाटा प्याकेजहरू पनि समेटिएका छन्, जसमा सानोदेखि ठूलो परिमाणसम्मको इन्टरनेट सुविधा उपलब्ध हुनेछ।
कम्पनीले रु. ९९९ मा अल–नेट भ्वाइस प्याक, मासिक ३ सय जीबी डाटा र एसएमएस सुविधा तथा रु. ७९९ मा पनि भ्वाइस, डाटा र एसएमएस प्याकेज उपलब्ध गराएको जनाएको छ।
त्यस्तै, सस्तो दरका दैनिक प्रयोगयोग्य डाटा प्याकेजहरू पनि समावेश गरिएको छ, जसअन्तर्गत रु. ५९ देखि रु. ३९९ सम्मका विभिन्न विकल्प उपलब्ध छन्।
अफरमा अल्पकालीन र दीर्घकालीन प्रयोगका लागि विभिन्न इन्टरनेट र कम्बो प्याकेजहरू पनि समावेश गरिएको छ। रु. २५ मा १ घण्टाको अल–नेट भ्वाइस प्याक र रु. ९९९ मा ३० दिनसम्म चल्ने डाटा प्याकेज पनि उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार समर अफर २०८३ वैशाख ११ गतेदेखि लागू हुनेछ। ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर सेवा लिन सक्नेछन्। साथै, www.ntc.net.np वेबसाइटमार्फत पनि प्याकेजबारे विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया