काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा आगामी वैशाख २१ र २२ गते हुने भएको छ।
महासंघले साधारणसभाको उद्घाटन ग्वार्कोस्थित रोयल टुलिप होटलमा र निर्वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान (प्रज्ञा भवन) मा गर्ने निर्णय गरेको छ।
महासंघले आइतबार सूचना जारी गर्दै साधारणसभाको स्थान र संशोधित कार्यक्रम सार्वजनिक गरेको हो। यसअघि चैत २९ र ३० गते तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो।
त्यसपछि चैत २७ गते बसेको महासंघ पदाधिकारी बैठकले वैशाख २१–२२ गते साधारणसभा गर्ने निर्णय गरेको थियो, जसलाई वैशाख ९ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो।
यसपटकको साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्नेछ। प्रारम्भिक कार्यतालिका अनुसार निर्वाचन चैतमै हुने तय भए पनि सदस्यता विवाद र कानुनी उल्झनका कारण प्रक्रिया प्रभावित भएको थियो।
सदस्यता विवादपछि बनेको सहमति
महासंघभित्र १८ वटा वस्तुगत संघको सदस्यता र मताधिकारबारे देखिएको विवादले लामो समय प्रक्रिया अवरुद्ध बनाएको थियो। अन्ततः १८ संघलाई सदस्यता दिने तर तीन वर्षपछि मात्र मताधिकार दिने मध्यमार्गी सहमतिपछि विवाद समाधान भएको हो।
यसअघि सदस्यता समितिले ती संघलाई मापदण्ड नपुगेको भन्दै अस्वीकार गरेको थियो। तर कार्यसमिति बैठकले सबै संघलाई सदस्यता दिने निर्णय गरेपछि विवाद चुलिएको थियो। त्यसपछि मुद्दा अदालतसम्म पुगेको थियो र अदालतको आदेशपछि प्रक्रिया रोकिएको थियो।
निर्वाचन प्रतिस्पर्धात्मक बन्दै
नयाँ विधानअनुसार यसपटक अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान नहुने व्यवस्था छ। उपाध्यक्ष तथा कार्यसमिति सदस्य पदमा मात्र निर्वाचन हुनेछ भने वरिष्ठ उपाध्यक्ष कार्यसमितिबाट चयन हुने व्यवस्था गरिएको छ।
उपाध्यक्ष पदका लागि ४३ लाख रुपैयाँ र सदस्यका लागि १ लाख रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
जिल्ला–नगर, वस्तुगत, एसोसिएट, महिला तथा प्रदेश समूहका विभिन्न पदमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन प्रतिस्पर्धात्मक हुने देखिएको छ।
जिल्ला–नगर उपाध्यक्षमा पाँच जना, वस्तुगत र एसोसिएट उपाध्यक्षमा प्रतिस्पर्धा देखिएको छ। कार्यसमितिका विभिन्न समूहमा पनि दर्जनौं उम्मेदवार मैदानमा छन्।
समूहगत प्रतिस्पर्धा
निर्वाचनमा व्यवसायीहरू दुई मुख्य समूहमा विभाजित देखिएका छन्। एक समूहमा अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल सक्रिय छ भने अर्को समूहमा हेमराज ढकाल पक्षको प्यानल प्रतिस्पर्धामा रहेको छ। दुवै समूहले विभिन्न उपाध्यक्ष र कार्यसमिति पदका लागि उम्मेदवार अघि सारेका छन्।
महासंघ अध्यक्ष चन्द्र ढकाल भने औपचारिक रूपमा कुनै एक समूहमा नखुले पनि दुवै पक्षका गतिविधिमा सहभागी हुँदै आएका छन्। यससँगै लामो विवाद र कानुनी उल्झनपछि महासंघ अन्ततः नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ।

आर्थिकन्यूज
प्रतिक्रिया