शीर्षकहरू

अधिकतम मूल्य सूची स्टिकर टाँस्ने विषयमा नाडा र भन्सारबीच छलफल

अधिकतम मूल्य सूची स्टिकर टाँस्ने विषयमा नाडा र भन्सारबीच छलफल

काठमाडौं । अटोमोबाइल वस्तुमा अधिकतम खुद्रा मूल्य (MRP) सहितको स्टिकर टाँस्ने व्यवस्थालाई कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) र भन्सार विभागबीच छलफल भएको छ।

वैशाख १४ गते नाडाको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग भेट गरी अटोमोबाइल सामग्रीमा MRP सहितको स्टिकर टाँस्ने विषयमा विस्तृत छलफल गरेको हो।

छलफलका क्रममा नाडाका प्रतिनिधिहरूले चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनमा यस्तो व्यवस्था कार्यान्वयन गर्न खासै समस्या नभए पनि एउटै बक्सभित्र ठूलो संख्यामा आउने अटोमोबाइल स्पेयर पार्ट्समा व्यावहारिक समस्या देखिएको बताएका थिए। साथै, भन्सारमा व्यवस्थित वेयरहाउसको अभावका कारण भन्सार यार्डमै स्टिकर टाँस्ने व्यवस्था व्यवहारिक नभएको उनीहरूको भनाइ थियो।

महानिर्देशक भण्डारीले सबै प्रकारका अटोमोबाइल वस्तुमा MRP सहितको स्टिकर टाँस्ने व्यवस्था कार्यान्वयन गर्नु चुनौतीपूर्ण भए पनि विभागले व्यापार सहजीकरण र राजस्व वृद्धि दुवैलाई ध्यानमा राखेर काम गरिरहेको बताए।

छलफलका क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले सवारीसाधन तोकिएको समयभित्र जाँचपास गरी लैजान सूचना जारी गरेको विषयमा जिज्ञासा राखेका थिए। यसमा महानिर्देशक भण्डारीले उक्त सूचना कानुनअनुसार जारी गरिएको स्पष्ट पार्दै सम्बन्धित व्यवसायीलाई तोकिएको समयमा प्रक्रिया पूरा गर्न आग्रह गरे।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस ३० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार विदेशबाट आयात गरिएका सबै वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा बिल उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा आजको छलफल केन्द्रित रहेको थियो।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अङ्कित ज्योति, सचिव मेघरथ पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया