काठमाडौं। नेपाल राष्ट्र बैंकले मुलुकका प्रमुख समष्टिगत आर्थिक सूचकहरू सन्तोषजनक अवस्थामा रहेको जनाएको छ। बैंकका अनुसार मूल्यस्थिति, बाह्य क्षेत्र र वित्तीय प्रणाली क्रमशः स्थिर हुँदै सुधारतर्फ उन्मुख देखिएका छन्।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ७१ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिले तय गरेको लक्ष्यभित्रै रहेको र शोधनान्तर स्थिति पनि सुधारोन्मुख रहेको बताए। वित्तीय क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात केही बढे पनि आर्थिक गतिविधि विस्तारसँगै त्यसमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ छ।
उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको स्पष्ट बहुमतको सरकारले राजनीतिक तथा नीतिगत स्थायित्व ल्याउने विश्वास व्यक्त गरे। यस्तो स्थायित्वले आर्थिक गतिविधिलाई थप गति दिने अपेक्षा राष्ट्र बैंकको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार समष्टिगत आर्थिक स्थायित्व कायम राख्न मौद्रिक, बैंकिङ तथा विदेशी विनिमय नीतिहरू समयानुकूल परिमार्जन गर्दै आएको बैंकले जनाएको छ। मौद्रिक नीतिको कार्यान्वयनलाई पारदर्शी र पूर्वानुमानयोग्य बनाउन ब्याजदर करिडोरजस्ता संरचनाहरू प्रभावकारी रूपमा लागू गरिएको उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा कर्जाको माग अझै कमजोर रहे पनि निक्षेप संकलनमा सन्तोषजनक वृद्धि भएको छ। यसले प्रणालीमा अधिक तरलता र तुलनात्मक रूपमा न्यून ब्याजदर कायम भएको छ। निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर समेत घट्दो क्रममा रहेको जनाइएको छ।
वित्तीय पहुँच, साक्षरता र सेवाको विस्तारमा उल्लेख्य प्रगति भएको पनि राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गए पनि डिजिटल भुक्तानी प्रणालीको विस्तारले वित्तीय सेवामा पहुँच बढाएको छ।
राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक पहलहरू अघि बढाएको जनाएको छ। साथै, कम ब्याजदरले निजी क्षेत्रलाई लगानी विस्तारमा सहजता दिएको र निर्देशित कर्जाको दायरा विस्तार गर्दै लगानी प्रवर्द्धनमा जोड दिइएको गभर्नर पौडेलले बताए।
आर्थिकन्यूज
प्रतिक्रिया